सिटीलाई च्याम्पियन्स लिगको उपाधि

काठमाडौं, जेठ २८ । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले हराउँदै सिटीले पहिलो पटक उपाधि जितेको हो ।

सिटीलाई जित दिलाउन रोड्रीले खेलको ६८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा रहेको सिटीले एकै सिजनमा तीनवटा उपाधि हात पारेको छ ।
यसअघि सिटीले प्रिमियर लिग र एफए कपको उपाधि पनि जितेको थियो ।

सिटी ट्रेबल उपाधि जित्ने दोस्रो प्रिमियर लिग क्लब हो । यस अघि म्यानचेस्टर युनाईटेडले यो उपलब्धि हासिल गरिसकेको छ ।
योसंगै ग्वार्डीओला तीन च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक समेत बनेका छन् ।

यस अघि कार्लो एन्सोलोटी र जिनेदान जिदानले तीन च्याम्पियन्स लिग जिताएका छन् ।