एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई ८८ रनको लक्ष्य

काठमाडौं, जेठ ३० । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए ले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।

हङकङको मङकङमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो । पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा सर्वाधिक २८ रन बनाईन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन जोडिन् ।

कविता कुवँरले पहिलो ओभरमा नै इमन फतिमालाई शुन्य रनमा आउट गराएपछि नेपालले राम्रो लय समातेको थियो । नेपालका लागि ईन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कविता जोशी, कविता कुवँर र सीता रानामगरले समान २÷२ विकेट लिए ।

एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको थियो ।
थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।