काठमाडौं, साउन ४ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय संघीय उच्च आयुक्त रबाव फतिमाबीच न्युयोर्कमा भेटवार्ता भएको छ ।
भेटवार्तामा संयुक्त राष्ट्र संघीय प्रणालीलगायत बहुपक्षीय मञ्चहरूमा अल्पविकसित राष्ट्रहरूको सामूहिक हितलाई अगाडि बढाउने द्धिपक्षिय आपसी सरोकारका विभिन्न विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ ।
भेटपछि यूएनकी उच्च आयुक्त फतिमाले पनि महत्वपूर्ण छलफल भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिएकी छिन् ।
उनले अतिकम विकसित मुलुक (एलडिसी) को अध्यक्षको रुपमा राष्ट्रिय योजना आयोगले सफल नेतृत्व गरेको भन्दै उपाध्यक्ष श्रेष्ठलाई बधाई दिदै दोहा कार्ययोजना कार्यान्वयनबारे छलफल गरेको बताएकी छन् ।
‘नेपालको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग भेट हुँदा खुसी लागेको छ,एलडिसी अध्यक्षको रुपमा बलियो नेतृत्व गर्नु भएकोमा मैले उहाँलाई धन्यबाद दिएँ, हामीले दोहा कार्ययोजना कार्यान्वयनबारे छलफल गर्यौ ।’
यस्तै, योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले साना तथा मझौला उद्यम व्यवसाय (एसएमइज) मा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघले अमेरिकाको न्यूयोर्कमा आयोजना गरेको उच्च स्तरीय राजनीतिक फोरममा बिहीबार बोल्दै ‘एसएमइज’ मा लगानी गर्नु वित्तीय कारोबार गर्नु मात्रै नभएको धारणा उनले राखेका छन् ।
अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी)का अध्यक्ष समेत रहेका उपाध्यक्ष श्रेष्ठले एसएमइजमा लगानी गर्नु भनेको अतिकम विकसित मुलुकका लाखौँ व्यक्ति र परिवारको क्षमता विकासका लागि लगानी गनभु भएको बताए ।
उच्च स्तरीय फोरममा नेपालको नेतृत्वको गर्दै अमेरिका पुगेका उपाध्यक्षले एसडिजीलाई सफल बनाउनु पर्नेमा जोड दिए ।
उनले भनेका छन् ‘एलडिसी सफल भए एसडिजी सफल हुनेछन् ।’
अमेरीकाको उच्च स्तरीय फोरमको भ्रमणमा रहेको नेपाली टोली भोलि (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम छ ।


















