काठमाडौं,असोज,१७ । दोलखामा प्रहरीले विभिन्न समयमा बरामद गरेको सुन जस्तो देखिने ११ किलो धातु सुन नै भएको पुष्टि भएको छ ।
प्रहरीले विभिन्न ठाउँबाट बरामद गरी परीक्षणको लागि सुन चाँदी व्यवसायी संघ क्षेत्रपाटी काठमाडौंमा पठाउँदा उक्त सुन जस्तो देखिने पहेँलो धातु सुन भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दोलखको प्रमुख डीएसपी दीपक खड्काले जानकारी दिए ।
खड्काका अनुसार असोज १० गते बेलुका दोलखाको विगु गाउँपालिका–३ जामुने स्थित सिता तामाङको घरमा कोठा लिई बस्ने विगु– १ का २८ वर्षीय केशर तामाङ समेतले अवैध रूपमा सुन तस्करी गरी ल्याई लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको संयुक्त टोलीले खानतलासी गर्दा सुन जस्तो देखिने चार थान चार किलो धातु बरामद गरेको थियो ।
त्यस पछि प्रहरी अनुसन्धानकै क्रममा असोज १२ गते केशर तामाङकै कोठाबाट पुनः सुन जस्तो देखिने तीन थान तीन किलो धातु बरामद गरेको थियो । त्यस्तै असोज १४ गते विगु–१ लामाबगर स्थित आङफुर्वा शेर्पाको बारीमा ढुङ्गा मुनी लुकाई छिपाई राखेको अवस्थामा सुन जस्तो देखिने पहेँलो धातु चार थान चार किलो बरामद भएको खड्काले बताए ।
बरामद भई आएको सुन जस्तो देखिने पहेँलो धातु परीक्षणको लागी काठमाडौं पठाएकोमा सुन नै भएको पुष्टि भएको खड्काले जानकारी दिए । सो सुनको बजार मूल्य १० करोड १९ लाख ५७ हजार ७ सय ८० रुपैँया पर्ने भनि खुली आएको पनि उनले जानकारी दिए ।
सो घटना अनुसन्धानको क्रममा विभिन्न मिति र समयमा दोलखाको विगु गाउँपालिका–३ का २८ वर्षीय केशर तामाङ,वडा नं १ का १८ वर्षीय पेम्बा तामाङ,२० वर्षका माधव मगर,विगु– १ घर भई हाल काठमाडौं बस्ने ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा,वडा नं १ कै ३० वर्षीया सुनमाला तामाङ,३२ वर्षका चस्मान तामाङ र १७ वर्षका नाबालक समेत पक्राउ परेको उनले बताए ।उनीहरूको उपर अनुसन्धान भइरहेको छ ।


















