पूर्व महासचिव मूनले ल्होत्से हलमा सम्बोधन गरेका थिए

काठमााडौं,कार्तिक,१३ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भोलि कात्तिक १४ गते मंगलबार ४ः०० बजे सम्बोधन गर्ने भएका छन् ।

महासचिव गुटरेस नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय प्रतिनिधि हुनेछन् ।

यसअघि नेपाल भ्रमणमा आएका राष्ट्रसंघका तत्कालिन महासचिव वान्की मूनले संसदको ल्होत्से हलमा सांसदहरुको भेलालाई सम्बोधन गरेका थिए ।

त्यतिवेला संसदको ऐन र नियमावलीमा त्यसरी सम्बोधन गर्ने व्यवस्था नभएकाले ल्होत्से हलमा सांसदहरुको भेलालाई सम्बोधन गर्ने प्रवन्ध मिलाईएको प्रतिनिधि सभाका प्रवक्ता (सहसचिव) एकराम गिरीले नेपाल न्यूूज बैंकलाई बताए ।

संविधानसभाले संविधान बनाएर घोषणा गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गरेका थिए ।

२०५० सालतिर भारतका तत्कालिन प्रधानमन्त्री इन्द्रकुमार गुजराल नेपाल भ्रमणमा आएका बेला पनि उनले संसदलाई सम्वोधन गर्ने बिषयमा छलफल भएको थियो । तर संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीमा त्यस किसिमको व्यवस्था नभएकाले नियम संशोधन गरेर भएपनि सम्बोधनको प्रवन्ध मिलाउने सल्लाह भएको सम्झन्छन् संसदका तत्कालिन महासचिव सूर्यकिरण गुरुङ्ग ।
तर किन हो गुजरालले सम्वोधन भने गरेनन् ।

उच्च तहका व्यक्तित्वहरु आफ्नो देशको औपचारिक भ्रमणमा आएका बेला सम्मानार्थ संसदलाई सम्वोधन गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको पूर्व महासचिव गुरुङ्गले बताए ।