स्वास्थ्य सचेतना

नेपालले स्वास्थ्य सचेतनाको क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ। गाउँका आमाहरू अस्पतालमा सुरक्षित सुत्केरी गराइरहेका छन्। किशोरहरू पोषण र स्वास्थ्य व्यवहारका विषयमा सचेत हुँदै गएका छन्। वृद्ध नागरिकहरू पनि नियमित स्वास्थ्य परीक्षणतर्फ आकर्षित हुँदै गएका छन्। जन्मान्तर र सन्तानका संख्या पनि निश्चित गर्न थालिएको छ। व्यक्तिगत जीवनशैलीदेखि सामाजिक संस्कारसम्म स्वास्थ्यलाई केन्द्रीय महत्त्व दिन थालेका छन्।

‘पहिले त सुत्केरी गराउन पनि अस्पताल नपुग्ने गर्भवतीहरू अहिले नियमित गर्भ परीक्षण गराउने गरेको धेरैले देखेको हुनुपर्छ। पहिलोपटक खासै सुविधा पनि थिएन, नजिकमा अस्पताल पनि थिएन। अहिले त सजिलो छ, नजिकमा अस्पताल पनि छ।’ सुन्दरहरैंचा, मोरङकी कृष्णमाया भट्टराईले भनिन्। उनी जस्तै अधिकांश गर्भवतीहरूको अनुभव यस्तै छ। एकातिर नेपालीहरूमा स्वास्थ्य चेतनाको विकास हुँदै गएको छ भने अर्कोतिर आधुनिक स्वस्थ्य सेवाको पहुँच पनि बढ्दै गएको छ। पहिले स्वास्थ्य सेवाको पहुँच रहेकाले पनि परम्परागत विश्वास र घरेलु उपचारमा भर पर्नुपर्ने बाध्यता थियो। अस्पताल, स्वास्थ्य चौकी सहरतिर मात्रै थिए। जिल्ला अस्पतालसम्म पुग्ने बाटो र साधनको पनि अभाव थियो। आर्थिक अवस्था पनि कमजोर भएकाले बिरामी पर्दा मात्रै उपचार खोज्ने प्रवृत्ति थियो।