कुन गृह मन्त्रीका पालामा कति उडे भिजिट भिषामा ?


काठमाडौं, २६ जेठ केही व्यक्तिहरुले समाजिक सञ्जाल मार्फत गृहमन्त्री रमेश लेखकका पालामा मात्रै भिजिट भिषा मार्फत भारतीय नागरिक तेश्रो मुलुक गएको भन्ने भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण गरिरहेका भएपनि विगतका गृहमन्त्रीहरुकै पालादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमार्फत भारतीय नागरिकहरु तेस्रो मुलुक जाने गरेको अध्यागमन श्रोतले खुलासा गरेको छ । अध्यागमन विभाग स्रोतबाट प्राप्त तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुई पटक गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिषामा कुल ८ हजार २ सय ७९ जना भारतीय नागरिक तेस्रो मुलुक गएको खुलेको छ । लामिछाने पहिलो पटक ४ महिना गृहमन्त्री हुदाँ ७ हजा र ४० जना र दोश्रो पटक गृहमन्त्री हुदा १२ सय ३९ जना भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गएको तथ्याङ्कले देखाएको छ । रविको पहिलो कार्यकालमा दैनिक औसतमा ५८ जना र दोश्रो कार्यकालमा औषक ३८ जना भारतीय भिजिट भिषामा विदेश उडेका छन् । स्रोतका अनुसार रविको पालामा सबैभन्दा बढी भारतीयहरु नो अब्जेक्सन लेटर (एनओसी) विना नै तेस्रो मुलुक गएका थिए ।
त्यसैगरी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ १ वर्ष ३ दिन गृहमन्त्री भएका बेला १४ हजार ७४ जना भारतीयले तेस्रो मुलुक जान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गरेको देखिन्छ । श्रेष्ठको पालामा दैनिक औसत ३८ जना भारतीय विदेशिएका थिए । त्यो भन्दा पहिले ३ वर्ष ४ महिना १६ दिन गृह मन्त्री भएका एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) को पालमा १५ हजार ३२ जना भारतीय नागरिक अध्यागमन मार्फत तेस्रो मुुलुक गएको अध्यागमनको तथ्यांकले देखाएको छ । थापाको पालामा दैनिक औसतमा १२ जना भिजिट भिषामा विदेश उडेका थिए ।
त्यसैगरी नेपाली कांग्रेसका नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा सबैभन्दा बढी भारतीय नागरिक भिजिट भिषामा तेस्रो मुलुक गएको देखिएको छ । खाण १ बर्ष ५ महिना १३ दिन गृहमन्त्री रहदा २४ हजार ६ सय २१ जना र औषत ४७ जना भारतीय नागरिक भिजिट भिषामा तेस्रो मुलुक बाहिरिएका थिए ।
त्यति मात्र नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही समय गृह मन्त्रालयको नेतृत्व सम्हालेका बेला पनि ८२ जना भारतीय नागरिक तेस्रो मुलुक गएको देखिएको छ ।
तेस्रो मुलुकमा जाने भारतीयहरुमध्ये अधिकांश कतार, कुवेत, दुवई, हङकङ, मलेसिया, चीन, थाइल्याड र श्रीलंका लगायतका मुलुकमा जाने गरेको पाइएको छ । भारतीय दुतावास र अध्यागमन विभाग स्रोतका अनुसार कुनैपनि भारतीय नागरिकले नेपालको विमानस्थल प्रयोग गरी तेस्रो मुलुक भ्रमण गर्न जादा भारतीय दुतावासबाट जारी नो अब्जेक्सन लेटर (एनओसी) देखाउनुपर्ने भन्ने कुनै अनुरोध नगरिएको समेत पाइएको छ । स्रोतका अनुसार यसरी नेपाली रुट (विमानस्थल) हुदै तेस्रो मुलुक जाने गरेको भारतीय नागरिकहरु लामो समयदेखि आवात जावत गर्ने गरेका छन् ।
“तथ्याङ्कमा देखिएका भारतीय नागरिकहरु यहाँबाट तेस्रो मुलुक मात्र जान्छन् भन्ने होइन ।” अध्यागमन विभागको उच्च स्रोतले भन्यो, “ अधिकांश भारतीय नागरिकहरु यहीँबाट आवत जावत गर्ने गरेको तथ्याङ्कबाट पुष्टि हुन्छ ।”
पछिल्ला केही दिन यता गृहमन्त्री लेखककै पालामा मात्रै भिजिट भिषा प्रकरण भएको भन्दै विपक्षी दलहरु उनलाई दोषी करार गरी राजनीतिक प्रतिशोध साध्ने प्रयास गरेका थिए । तर तथ्य र प्रमाणले विगत लामो समयदेखि नै भिजिट भिषामा जाने चलन गरेको तथ्याङ्क सार्वजनिक भएपछि उनीहरुको प्रतिसोधको योजना तुहिएको छ । अहिले विसं २०६४ सालयताकै भिजिट भिषाको प्रकरणबारे अनुसन्धान गर्नुपर्ने बहस उठेपछि विपक्षीहरु तै चुप मै चुपको अवस्थामा पुगेका छन् ।
“ विकसित घटनाक्रम हेर्दा भिजिट भिसा र भारतीय नागरिकले त्रिभुवन विमानस्थल हुदै तेस्रो मुलुक आउजाउ गर्न थालेको दशकौंदेखिको निरन्तरता हो ।” अध्यागमन विभाग स्रोतले भन्यो–“ तर नियोजित रुपमा अहिलेको वर्तमान सरकार र गृहमन्त्रीलाई बदनाम गराउने नियतले प्रचारबाजी गरिएको छ । यस विषयमा सबै सचेत रहन जरुरी छ ।”

कुन गृह मन्त्रीका पालामा कति गए भिजिट भिषामा ?
१. रवि लामिछाने गृहमन्त्री हुदाँ : ८ हजार २ सय ७९ जना
२. नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुदाँ: १४ हजार ७४ जना
३. रामबहादुर थापा (बादल ) गृह मन्त्री हुदाँ : १५ हजार ३२ जना
४. पुष्पकमल दाहाल (प्रचण्ड) गृह मन्त्री हुदाँ : ८२ जना
५. बालकृष्ण खाण गृह मन्त्री हुदाँ : २४ हजार ६ सय २१