राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शुरूमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराए ।
शुक्रबार बसेको रास्वपा संसदीय दलको बैठकले गौरीकुमारीलाई उद्योग र रामजीलाई श्रममन्त्री बनाउने निर्णय गरेको थियो । सोही अनुसार प्रधानमन्त्री बालेनले उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए ।
शुक्रबार नै बसेको प्रतिनिधिसभाको बैठकबाट उनी उपसभामुख निर्वाचित भएकी थिइन् । उनको पक्षमा २२९ मत खसेको थियो ।
उपसभामुखमा निर्वाचित ठाकुर २६ वर्षीया हुन् । उनी नेपालको संसदीय इतिहासमा सबैभन्दा कान्छी उपसभामुख बनेकी छन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उपस्थित थिए ।
त्यसपछि राष्ट्रपति पौडेलको उपस्थितिमा सभामुख अर्यालले उपसभामुख ठाकुरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
















