पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो

काठमाडौ -नेपालका प्रचलित पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढिरहेका बेला पर्वतको सबैभन्दा उचाइमा रहेको नयाँ गन्तव्य कोखेडाँडा र हम्पाल क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको छ। मोदी गाउँपालिका-१ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको आकर्षक स्थान हो। समुद्री सतहबाट तीन हजार ३०९ मिटरको उचाइमा रहेको यो स्थान निकै मनमोहक र सुन्दर छ। यो जिल्लाकै सबैभन्दा उच्च स्थान पनि हो।

छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्रामार्फत पुग्न सकिने कोखेडाँडाबाट यतिबेला रङ्गीबिरङ्गी लालीगुराँस, सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत दर्जनाैँ हिमशृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ। यहाँबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँ जिल्ला प्रत्यक्ष रूपमा देख्न सकिन्छ।

लामो समयदेखि पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज स्थापना गरेपछि यहाँ पर्यटकको चहलपहल बढ्दै गएको बताए। गुरुङले रु एक करोड २० लाखको लगानीमा आपा कटेज स्थापना गरी सञ्चालन गरिरहेका छन्।

कटेजमा एक रातमा नेपाली ४० जनासम्म बास बस्न मिल्ने बताउँदै उनले विदेशी १५ जनासम्म राख्न सकिने जानकारी दिए। अहिले अग्रिम बुकिङ गरेर आउनेहरूको सङ्ख्या उल्लेख्य रहेको गुरुङले बताउनुभयो। विदेशीभन्दा स्वदेशी पर्यटक बढी आउने गरेका उनको भनाइ छ।

बस्नका लागि स्थान सीमित भए पनि दैनिक सयाैँ पर्यटक आएर अवलोकन गरी फर्किने गरेका गुरुङले बताउनुभयो। उहाँले आफ्नो कटेजमा आउने आन्तरिक र बाह्य पर्यटकलाई छुट्टाछुट्टै दररेटको दरभाउ (प्याकेज) बनाइएको जानकारी दिए।

कोखेडाँडामा विभिन्न ३० देशका झन्डासमेत राखिएको छ। बाह्य पर्यटकको आकर्षण बढाउनका लागि भारत, एसियासहित अधिकांश मुलुकका साथै, युरोपियन मुलुक, अष्ट्रेलिया र अमेरिकन देशका झन्डाहरूले सजाएर आकर्षक बनाइएको छ।

पर्यटकीयस्थल कोखेडाँडा जानका लागि पर्यटकले तीनवटा मार्ग प्रयोग गर्दै आएका छन्। कास्कीको नयाँपुल-उल्लेरी-वनठाँटी हुँदै पैदल हिँडेर कोखेडाँडा पुग्न सकिन्छ। त्यसैगरी पातीचौर-बाजुङ-क्याङ-लेसपारसम्म गाडीमा यात्रा गरी त्यहाँबाट करिब सात घण्टाको पैदलयात्रामार्फत पनि कोखेडाँडा पुग्न सकिन्छ। त्यस्तै पर्वतको जलजला गाउँपालिकाअन्तर्गत मिलनचोक-शालिजा-तारे-हम्पालसम्म सवारीसाधनमार्फत यात्रा गरेर तीन घण्टाको पैदलयात्रा गरी कोखेडाँडा पुग्न सकिन्छ।

कोखेडाँडासँगैको अर्को गन्तव्य हो पर्वतको हम्पाल डाँडा। जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिने यो क्षेत्र समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा अवस्थित यो डाँडामा नेपालकै सबैभन्दा बढी १२ थरिका लालीगुराँस पाइन्छन्।

फागुनदेखि जेठसम्म विभिन्न प्रजातिका लालीगुराँसले रङ्गीबिरङ्गी हुने हम्पालमा लालीगुराँस हेर्न, टिप्न, तस्बिर, भिडियो खिच्न तथा टिकटक बनाउनका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्लो समय बढेको स्थानीय पर्यटन व्यवसायी तिलक पुनले बताए। उनका अनुसार यहाँ रातो, सेतो, पहेँलो, हरियो, नीलो, खैरो, गुलाबी, बैजनीलगायत रङका लालीगुराँसहरू फुल्ने गर्दछन्।

हम्पालमा पछिल्लो समय सडक मार्ग र पदमार्ग दुवैको पहुँच बढेपछि घुम्न आउने पर्यटकको सङ्ख्या बढेको मोदी गाउँपालिका-४ लेसपारका पर्यटन व्यवसायी नरसिंह पुनले जानकारी दिए। “जता हेरे पनि गुराँसैगुराँस देखिन्छ, आँखै तिरमिराउनेगरी फुलेको देख्न सकिन्छ”, उनले भने।