नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पूर्व अध्यक्ष गोल्छालाई पक्राउ गरेको हो।

गोल्छा हिमालयन रि इन्स्योरेन्सका निवर्तमान अध्यक्ष समेत हुन्। विवादास्पद व्यापारी दीपक भट्टलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्दै जाँदा उनको नाम पनि मुछिएको हो।

बीमा कम्पनीको रकम दुरुपयोग गरेर सेयर बजारमा लगानी गरेको विषयलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई धित्तोपत्र बोर्डले बीमा र सेयरलाई जोडेर भएको गतिविधिमा संलग्न देखिएको भन्दै थप कारबाही गर्न प्रहरीलाई सिफारिस गरेको थियो।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।