बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो।
डुडियाघाटमा काठेपुल विस्थापित गरेर झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय खुसी थिए। तर बर्खामा खोला ठूलो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएपछि हालै गण्डकी प्रदेश सरकारले डुडियाघाटमा तीन करोड ६२ लाख २२ हजार रुपैयाँ खर्चेर मोटर चल्ने पुल निर्माण गरेपछि सँगैको झोलुङ्गे पुल प्रयोगविहीन बनेको छ।
डुडियाघाटमा जस्तै जिल्लाभर एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन बनेका छन्। सडक सञ्जाल विस्तारका कारण गोरेटोबाटो प्रयोग हुन छाड्दा र पक्की पुल बनेपछि ती झोलुङ्गे पुल प्रयोगमा आउन छाडेका हुन्।
प्रदेश सरकारको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले काठेखोलामा मात्रै हालै तीनवटा पक्की पुल बनाइसकेको छ। गाउँपालिका–६ बिँहु र वडा नं २ भिमापोखरा जोड्ने गरी लामाबगरमा तीन वर्षअघि निर्माण भएको तीन करोड ३१ लाख रुपैयाँ लागत पक्की पुल बनेपछि सँगैको झोलुङ्गे पुल प्रयोगमा आउन छाडिसकेको छ। काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले कुनै समय अत्यन्तै अभाव खड्कने झोलुङ्गे पुल पक्की पुलका कारण प्रयोगमा आउन छाडेको बताए।
काठेखोला गाउँपालिकामा मात्र पछिल्लो तीन वर्षमा तीनवटा पक्की पुल बने, पक्की पुलका कारण छेउमै रहेका झोलुङ्गे प्रयोगमा आउन छाड्यो’, थापाले भने, ‘पक्की पुल नबन्दासम्म त यात्री झोलुङ्गे पुलबाट र सवारीसाधन खोलाबाट जान्थे, अहिले पक्की पुल बनेपछि झोलुङ्गे पुलको काम भएन, गाउँपालिकाले प्रयोगमा आउन सक्ने सम्भावित क्षेत्रमा झोलुङ्गे पुल स्थानान्तरण गर्न योजना बनाएको छ।’
सबैभन्दा बढी पक्की पुल निर्माण गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डका दर्जन बढी झोलुङ्गे पुल प्रयोगमा आउन छोडेर जीर्ण बनेका छन्।
गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमाना गिरीङ्दीखोलामा पुल बनेपछि छेउमै रहेको झोलुङ्गेपुलबाट मानिस वारपार गर्ने छाडे। त्यसपछि सो पुलको लठ्ठामा खिया लागेको छ।
स्थानीय नवीन रानाका अनुसार जिल्लाभर मध्यपहाडी पुष्पलाल लोकमार्गमा बनेका एक दर्जन पक्की पुलका कारण १० वटा झोलुङ्गेपुल विस्थापित भएका छन्। जिल्लामा ५०० भन्दा बढी झोलुङ्गे पुल रहेको छ।


















