महाबिर पुनको सम्पत्ति कास्कीको २८ रोपनी जग्गा बिक्रीमा, ३ तोला सुन ,घर छैन

काठमाडौं। पूर्वशिक्षामन्त्री समेत रहेका स्वतन्त्र सांसद महाबीर पुनले आफ्नो नाममा कास्कीको मादी गाउँपालिकामा २८ रोपनी जग्गा र बैंक खातामा सहयोगीहरुबाट प्राप्त २९ लाख रुपैयाँ बाहेक अन्य कुनै सम्पत्ति नरहेको बताएका छन्।

उनले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सांसदले संसद्‍ सचिवालयमा सम्मपत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ। तर उनले सचिवालयमा बुझाउनका लागि तयार पारेको विवरण फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएको विवरण अनुसार उनको नाममा कास्कीको मादी गाउँपालिकामा पर्ने माझठानामा चार कित्तामा २८ रोपनी जग्गा छ। जुन उनले २०५२ सालमा ४ लाखमा किनेका हुन्। त्यो जग्गा बिक्रीमा रहेको तर अहिलेसम्म ग्राहक नपाएको महाबीरले बताएका छन्।

उनीसँग करिब ३ तोला सुन छ। त्यो सुन २०६० मा श्रीमतीलाई इष्टमित्रले उपहार दिएको महावीरले उल्लेख गरेका छन्।

महाबीरले अढाइ वर्षमा १८ करोड ७५ लाख रुपैयाँको किताब बेचेका छन्। उनले आफ्नो आत्मकथा २ लाख ५० हजार प्रति बिक्री गरेका हुन्। उनको आत्मकथा २०८० असोजमा सार्वजनिक भएको थियो। एउटा पुस्तकको मूल्य ७५० रुपैयाँ छ। पुस्तक बिक्रीबाट प्राप्त भएको रकम राष्ट्रिय आविष्कार केन्द्र र वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा खर्च गरिरहेको महाबीरले उल्लेख गरेका छन्।

उनीसँग दुई वटा बैंक खातामा २९ लाख रुपैयाँ छ। ४ लाख रुपैयाँ साथीले व्यक्तिगत खर्चका लागि दिएको र २५ लाख रुपैयाँ फागुन २१ को निर्वाचनमा सहयोगीहरुले दिएको चन्दाबापतको रकम भएको महावीरले उल्लेख गरेका छन्।

चुनावमा प्राप्त चन्दा रकम म्याग्दीको बेनीमा सम्पर्क कार्यालय सञ्चालनमा खर्च गर्ने महाबीरको भनाइ छ। उनले आफ्नो नाममा घर, सेयर, सवारीसाधन र अन्य सम्पत्ति नरहेको बताएका छन्।