राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लालपुर्जा वितरणलाई केवल जग्गाको स्वामित्वका रूपमा मात्र नभई नागरिकको आर्थिक सशक्तिकरणसँग जोडेर हेर्नुपर्नेमा जोड दिए।
सांसद खनालले लालपुर्जा प्राप्त भएपछि नागरिकको पुँजीमा पहुँच पुग्ने र त्यसले उद्यमशीलताको ढोका खोल्ने तर्क गरे।
आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर-२ का हजारौं नागरिक अझै पनि कानुनी स्वामित्वको प्रतीक्षामा रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘लालपुर्जा प्राप्त भएपछि नागरिकले पुँजीमा पहुँच पाउँछन् र उद्यमशीलता सुरु हुन्छ, यो गम्भीर विषय हो।’
सरकारको नीति तथा कार्यक्रममा समेटिएका विषयहरू आशावादी र महत्त्वाकांक्षी भए पनि कार्यान्वयनमा कमजोरी देखिए जनताले क्षमा नगर्ने उनले चेतावनी दिए।
सरकारको नियत स्पष्ट भएमा ३० दिनभित्र लगानी स्वीकृति र शून्य दिनमा खरिद नीति कार्यान्वयन गर्न सम्भव रहेको खनालको भनाइ थियो।
उनले अब ‘के गर्ने’ भन्दा पनि ‘कसरी गर्ने’ भन्ने कार्ययोजनामा केन्द्रित हुनुपर्ने सुझाव दिए।
कृषि क्षेत्रको सुधारका लागि सांसद खनालले ‘न्यूनतम समर्थन मूल्य’ को सुनिश्चितता र किसानको उत्पादनको भुक्तानी सिधै बैंक खातामा पुग्ने व्यवस्था गर्न माग गरे।
किसानलाई बिचौलियाबाट मुक्त गरी आत्मनिर्भर बनाउन यो कदम महत्त्वपूर्ण हुने उनले उल्लेख गरे। साथै, उनले किसानका लागि पेन्सन योजना ल्याउन सके कृषि क्षेत्र थप व्यावसायिक बन्ने विश्वास व्यक्त गरे।
उत्पादित कृषि उपजको नोक्सानी कम गर्न कृषि एम्बुलेन्सलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
भारतको किसान रेल मोडलको उदाहरण दिँदै उनले नेपालमा पनि ढुवानी लागत घटाउन यस्तै प्रकृतिको व्यवस्था आवश्यक रहेको बताए। हाल नेपालमा २५ देखि ३५ प्रतिशत फलफूल र तरकारी बजार नपुग्दै नष्ट हुने गरेको तथ्यांक उनले प्रस्तुत गरे।
प्रविधि र ऊर्जाका क्षेत्रमा सांसद खनालले ग्रीन हाइड्रोजन प्रविधिलाई व्यावसायिक उत्पादनमा लैजान र नेपालमै मल कारखाना खोल्न सरकारसँग जोडदार माग गरे।
उनले हाइड्रोजनलाई यातायात क्षेत्रमा इन्धनको रूपमा विकास गर्न र ‘रिफिलिङ स्टेसन’ का लागि आगामी बजेटमा व्यवस्था गर्नसमेत आग्रह गरे। ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पुरा गर्न पश्चिम सेती र कर्णाली बेसिनका मेगा हाइड्रोपावरहरूलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो।
सांसद खनालले देवभूमि नेपालको अवधारणा अघि सार्दै सुदूरपश्चिम र कर्णालीका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई पर्यटनसँग जोड्नुपर्ने बताए।
पशुपतिनाथ, लुम्बिनी र मुक्तिनाथजस्तै सुदूरपश्चिमका शक्तिपीठहरूलाई विकास गरी नेपाललाई विश्वकै आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्न सकिने उनको धारणा थियो।
यसले स्थानीय रोजगारी र अर्थतन्त्रलाई मजबुत बनाउने उनले बताए।

















