पोखरामा हुँदै दोस्रो गण्डकी लोकतारा–२०८३ को ग्राण्ड फिनेल

केपि कुमार जलन

पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा “दोस्रो गण्डकी लोकतारा–२०८३” को बहुप्रतिक्षित ग्राण्ड फिनेल आगामी जेठ ९ गते शनिबार पोखरामा हुने भएको छ ।

पोखरा उद्योग वाणिज्य संघको सभाहल, गैह्रापाटनमा बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । गण्डकी प्रदेशभरबाट छनोट भएर आएका प्रतिभाशाली कलाकारहरूले आफ्नो उत्कृष्ट प्रस्तुति दिने भएकाले कार्यक्रम विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

लोकदोहोरी कला, संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले पछिल्लो समय लोकसंगीत क्षेत्रमा नयाँ ऊर्जा थपेको आयोजकको भनाइ छ । कार्यक्रममा चर्चित कलाकार, संगीतकर्मी, सांस्कृतिक अभियन्ता तथा दर्शकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको अध्यक्ष माया गुरूङले जानकारी दिनु भयाे ।

यसैबीच आयोजक संस्थाले लोकप्रिय कलाकार निशा केसी ज्यूलाई ग्राण्ड फिनेल कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ ।
गण्डकी प्रदेशकै प्रतिष्ठित लोक सांगीतिक प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको “गण्डकी लोकतारा” ले नयाँ पुस्तालाई लोक संस्कृतिप्रति आकर्षित गराउँदै मौलिक कला संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।