गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम

टीकापुर नगरपालिकाको सहयोगमा सामुदायिक पशु–चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिले नौदिने तालिम आयोजना गरेको हो। तालिममा ५० जना स्थानीय महिला सहभागी छन्।

तालिम शुभारम्भ  गर्दै प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले गोबरको प्रयोग गरी आर्थिक आत्मनिर्भर हुनाका साथै महिलालाई घरमै बसेर आयआर्जन गर्ने माध्यम बन्ने भएकाले तालिम उपयोगी हुने बताए।

गाई संरक्षण गरी आयर्जनका कार्य पनि गर्न थालेकामा गौशाला व्यवस्थापन समितिलाई धन्यवाद दिए। “गोबरबाट जैविक मल, बायोग्यास, गुइँठा, कम्पोष्ट मल बनाउने काम गरिरहनुभएको थियो”, उनले भने, “आउँदा दिनमा वातावरणमैत्री गोबरका गमला, विभिन्न सजावटका सामग्री, देवीदेवताका मन्दिर, धुपबत्ती, अगरबत्ती, दियो जस्ता सामग्री बनाएर आम्दानी लिने उपाय राम्रो छ।”

कार्यक्रमका प्रशिक्षक एकता मेहताले स्थानीय स्तरमै पाइने गोबरको प्रयोगले विभिन्न सामग्री निर्माण गरी पुरातन संस्कृतिको संरक्षणका साथै महिला सशक्तिकरणमा ठूलो योगदान दिन सकिने बताए।

टीकापुर नगरपालिकाका लेखाअधिकृत लक्ष्मी ओडले पालिकाको नीति कार्यक्रममा वातावरण संरक्षण, सांस्कृतिक संरक्षण, सामाजिक विकास जस्ता कुरा समेटिएकाले स्थानीय सरकारले स्थानीय स्रोतको प्रयोग गरी वातावरण संरक्षणमा समेत सहयोग पुग्ने भएकाले यो तालिम उपयोगी ठानेर सहयोग गरेको बताए।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार शाहले उत्पादन उत्पादन र बजारीकरणका लागि सजावट राम्रो दिन सकियोस् भनी विशिष्टकृत खालको तालिम आयोजना गरिएको बताए। “यसअघि पनि हामीले ४० महिलालाई आधारभूत तालिम दिएका थियौँ, धुप बनाउन, दियो, शुभलाभ, विभिन्न मन्दिर बनाउन सिकाएका छौँ”, उनी भन्छन्, “यस पटक थप सीप सिकाउन तालिम गरिएको हो। बजारीकरणका लागि आकर्षण सामग्री बनाउन यस पटक सिक्नेछन्।”

सांसद ज्ञवालीले वस्तुभाउका समेत संरक्षण हुने र महिलालाई आयआर्जनसँग जोड्न मद्दत पुग्ने भएकाले सीप राम्ररी सिक्न सुझाए।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले भने, “गौशालाको विकासका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।  गौ संरक्षण र महिलालाई स्वरोजगार बनाउने प्रयासमा मेरो साथ रहनेछ।”

तालिम सहजीकरण गर्न भारतको इन्दोरबाट प्रशिक्षक बोलाइएको छ।