केपि कुमार जलन
नेपाली लोकसंगीतको मौलिक स्वाद बोकेको गीत ‘यानि माया’ सार्वजनिक भएपछि दर्शक तथा श्रोतामाझ सकारात्मक चर्चा बटुल्न थालेको छ। आधुनिक संगीतको प्रभाव बढ्दो क्रममा रहे पनि नेपाली समाज, संस्कृति र लोकजीवनको सुगन्ध बोकेका सिर्जनाहरूको महत्व कहिल्यै कम नहुने सन्देश यस गीतले दिएको छ।
गीतका सर्जक राम गगन ले नयाँ पुस्तालाई लोकभाकासँग जोड्ने र पुराना पुस्ताका सम्झनालाई ताजा बनाउने उद्देश्यले ‘यानि माया’ तयार गरेका हुन्। गीतमा लोकप्रिय लोकगायक तथा अभिनेता प्रकाश सपुत, चर्चित गायिका शान्तिश्री परियार र स्वयं राम गगन को स्वर रहेको छ। विशेष कुरा, गीतको भिडियोमा प्रकाश सपुत स्वयं अभिनयमा समेत देखिएका छन्, जसले भिडियोको आकर्षण अझ बढाएको छ।
गीतको शब्द तथा संगीत राम गगनकै रहेको छ भने संगीत संयोजन एचबीएन किस्मत ले गरेका छन्। निर्देशक सुनिल बि.के. ले भिडियोमार्फत नेपाली गाउँघरको परिवेश, लोकसंस्कृति र मौलिक जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन्। भिडियोमा लक्ष्मी पुन मगर को अभिनयले पनि विशेष छाप छोडेको छ।
सर्जक राम गगनका अनुसार ‘यानि माया’ केवल मनोरञ्जनका लागि मात्र नभई नेपाली लोकसंस्कृति र लोकभाकाको संरक्षण गर्ने एउटा प्रयास हो। उनले गीत निर्माणमा साथ दिने सम्पूर्ण कलाकार, प्राविधिक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै दर्शक–श्रोताको माया, सुझाव र आशीर्वाद नै आफ्नो सिर्जनात्मक यात्राको सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्।
लोकभाकाको आत्मा बोकेको ‘यानि माया’ ले नेपाली संगीतप्रेमीको मन जित्ने विश्वास गरिएको छ। गाउँघरको परिवेश, मिठो लोकलय र सशक्त प्रस्तुतीकरणका कारण गीतले छोटो समयमै दर्शकको ध्यान तान्न सफल भएको छ।

















