नुवाकोटमा ९ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३ : देशभरका कलाकारको जमघट हुने

केपि कुमार जलन

नेपाली लोकदोहोरी गीत–संगीतको संरक्षण, प्रवर्द्धन र नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यसहित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ले “९ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ।

प्रतिष्ठानको आयोजनामा हुने उक्त प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गतेसम्म नुवाकोट जिल्लाको विदुर नगरपालिका–४ स्थित प्रशिक्षण केन्द्रमा सञ्चालन हुने जनाइएको छ। प्रतियोगितामा देशभरका लोकदोहोरी कलाकार, स्रष्टा, संगीतकर्मी तथा सांस्कृतिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

नेपालको मौलिक लोकसंस्कृति, भाका र दोहोरी परम्परालाई जगेर्ना गर्दै नयाँ पुस्तालाई लोकसंगीततर्फ आकर्षित गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताले राष्ट्रिय स्तरका प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

कार्यक्रममा वरिष्ठ कलाकार, सर्जक, संगीतकार, प्रशिक्षक तथा विभिन्न सांस्कृतिक व्यक्तित्वहरूको उपस्थितिले प्रतियोगितालाई अझ भव्य र आकर्षक बनाउने विश्वास आयोजकले लिएको छ। साथै प्रतियोगितामार्फत नेपाली लोकसंगीतको मौलिकता, सांस्कृतिक पहिचान र सामाजिक सद्भावलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लोकदोहोरी क्षेत्रका कलाकारहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुभव आदानप्रदान तथा सांस्कृतिक एकताको सन्देश फैलाउने यस राष्ट्रिय प्रतियोगिताप्रति कलाकार तथा दर्शकमाझ उत्साह बढ्दो देखिएको छ।