श्रीकृष्ण बम मल्ललाई बाबुराम–सरस्वती बज्राचार्य स्मृति कला पुरस्कार

केपि कुमार जलन

बागलुङ, जेठ २७ । नेपाली लोकसंगीत क्षेत्रमा लामो समयदेखि निरन्तर साधनारत चर्चित गायक तथा संगीतकार श्रीकृष्ण बम मल्ल लाई कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति कोष, बागलुङ ले सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

कोषको १७औँ वार्षिकोत्सवको अवसरमा बागलुङमा आयोजित एक भव्य समारोहबीच मल्ललाई सम्मान गरिएको हो। कोषका अध्यक्ष तथा साहित्यकार काजी रोशन ले नेपाली कला र संगीत क्षेत्रमा श्रीकृष्ण बम मल्लले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको जानकारी दिए।

गायक मल्लले नेपाली लोकसंगीतको संरक्षण, प्रवर्द्धन तथा मौलिक संस्कृतिको जगेर्नामा खेलेको भूमिका प्रशंसनीय रहेकाे र कलाकारको सिर्जना र समर्पणको कदर गर्दै आगामी दिनमा पनि कला क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहन गर्ने बताईएकाे छ।

कार्यक्रममा पुरस्कार ग्रहण गर्दै गायक तथा संगीतकार श्रीकृष्ण बम मल्ल ले आफूले पाएको सम्मानलाई सम्पूर्ण दर्शक–श्रोता, शुभेच्छुक तथा संगीतप्रेमीहरूको सम्मानका रूपमा लिएको बताए। उनले यस्तो सम्मानले कलाकारलाई अझ जिम्मेवार र सिर्जनशील बन्न प्रेरणा मिल्ने उल्लेख गर्दै आयोजक संस्था तथा सम्पूर्ण बागलुङवासीप्रति आभार व्यक्त गरे।

वि.सं. २०६६ सालमा स्थापना भएको कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति कोष ले विगतदेखि नै कला, साहित्य, संगीत तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने कलाकार र संस्थाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ। कोषले निरन्तर रूपमा कला क्षेत्रका व्यक्तित्वहरूको योगदानलाई उजागर गर्दै नयाँ

पुस्तालाई सिर्जनात्मक क्षेत्रमा प्रेरित गर्ने कार्य गरिरहेको छ।
यस वर्षको पुरस्कार श्रीकृष्ण बम मल्ललाई प्रदान गरिनु नेपाली लोकसंगीत क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको कदर मात्र नभई कला–संस्कृतिको संरक्षणमा समर्पित सम्पूर्ण कलाकारहरूको सम्मानका रूपमा समेत हेरिएको छ।