केपि कुमार जलन
सामाजिक सेवामा निरन्तर समर्पित रहँदै आएका सामाजिक अभियन्ता अर्जुन भुषाल यस वर्षको Rotary Hero Award बाट सम्मानित भएका छन्। रोटरी क्लब अफ नारायणगढको आठौँ पदस्थापना समारोहका अवसरमा उनलाई नगद रु. १५ हजार सहित सम्मान गरिएको हो।
भुषालले विगत लामो समयदेखि समाजसेवा, मानव सेवा तथा विशेषगरी बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार अभियान मा उल्लेखनीय योगदान दिँदै आएका छन्। सामाजिक उत्तरदायित्वप्रति उनको समर्पण, अथक प्रयास र सेवाभावको उच्च मूल्यांकन गर्दै रोटरी क्लब अफ नारायणगढले उनलाई यस प्रतिष्ठित सम्मानबाट विभूषित गरेको जनाएको छ।
सम्मान ग्रहणपछि अर्जुन भुषालले रोटरी परिवारप्रति आभार व्यक्त गर्दै भने, “यो सम्मानले मलाई अझ बढी सामाजिक सेवामा समर्पित भएर काम गर्ने प्रेरणा र ऊर्जा दिएको छ। आगामी दिनमा पनि मानव सेवाका कार्यलाई निरन्तरता दिनेछु।”
बेपत्ता भएका नागरिकहरूको खोजीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका भुषालले थुप्रै परिवारलाई आफ्ना आफन्तसँग पुनर्मिलन गराउन योगदान पुर्याएका छन्। उनको यो सेवाभाव समाजका लागि प्रेरणादायी उदाहरण बनेको छ।
रोटरी हिरो अवार्डले अर्जुन भुषालको सामाजिक योगदानलाई मात्र सम्मान गरेको होइन, समाजमा निस्वार्थ सेवाभावका साथ काम गर्ने अभियन्ताहरूलाई थप हौसला र प्रेरणा पनि प्रदान गरेको विश्वास गरिएको छ।


















