केपि कुमार जलन
तीज नजिकिँदै गर्दा बजारमा विभिन्न शैलीका गीत सार्वजनिक भइरहेका बेला जापानमा रहेका नेपाली गायक तथा सर्जक विशाल क्षेत्रीले भने आमाको पीडा, संघर्ष र त्यागलाई केन्द्रमा राखेर फरक स्वादको तीज गीत ल्याएका छन्।
‘आमा तिम्रो दुःख’ नाम दिइएको गीतले करिब दुई दशकअघिका नेपाली आमाहरूको जीवन, घरपरिवारका लागि गरेको संघर्ष र सन्तानको भविष्यका लागि उनीहरूले गरेको त्यागलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।
गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्चा बढ्दै गएको छ। विशेषगरी गीतका भावुक दृश्य र शब्दहरूले दर्शक–श्रोताको ध्यान खिचेका छन्। मनोरञ्जन र नृत्यप्रधान तीज गीतको भीडमा आमाको जीवनको कथा प्रस्तुत गरिएकाले गीतले छुट्टै पहिचान बनाउने संकेत देखाएको छ।
गीतमा विशाल क्षेत्रीको शब्द तथा संगीत, अन्जिता विश्वकर्माको स्वर र याम थापा मगरको संगीत संयोजन रहेको छ। दुर्गा पौडेलको कथा तथा निर्देशन रहेको म्युजिक भिडियोमा रन्जिता गुरुङ, रश्मि भट्ट र बालकलाकार सृष्टि खड्कीले अभिनय गरेका छन्।
भिडियोमा आमाले परिवार र सन्तानका लागि भोगेको अभाव, दुःख र संघर्षलाई दृश्यमार्फत प्रस्तुत गरिएको छ। जसले गर्दा गीत केवल तीजको मनोरञ्जनमा सीमित नभई आमाको त्याग सम्झाउने भावनात्मक सिर्जनाका रूपमा समेत हेरिएको छ।
नेपाली लोकसंगीतमा निरन्तर सक्रिय क्षेत्रीले यसअघि पनि मौलिक लोक तथा तीज गीतमार्फत दर्शक–श्रोताको मन जित्दै आएका छन्। यसपटक भने उनले तीजको मौलिकतालाई कायम राख्दै आमाको जीवनसँग जोडिएको संवेदनशील विषयलाई गीतमार्फत उठाएका हुन्।


















