तीजमा परदेशीको पीडा : रामजी पौडेल र पार्वती जिसीको ‘परदेशीको पीडा’ सार्वजनिक हुँदै

केपि कुमार जलन

हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा मौलिकता, भावना र परदेशी जीवनको यथार्थ बोकेको नयाँ तीज गीत ‘परदेशीको पीडा’ सार्वजनिक हुने तयारीमा रहेको छ।
तीजको रमझमसँगै घर–परिवारबाट टाढा रहेर परदेशमा संघर्ष गरिरहेका नेपालीको दुःख, पीडा, सम्झना र मातृभूमिप्रतिको मायालाई गीतमार्फत प्रस्तुत गर्न खोजिएको छ। ‘तीजको माया, देशको माया’ भन्ने भावलाई केन्द्रमा राखिएको गीतले यसपटकको तीजमा मनोरञ्जनसँगै भावनात्मक सन्देशसमेत दिने अपेक्षा गरिएको छ।

गीतमा रामजी पौडेलको स्वर तथा संगीत रहेको छ भने पार्वती जिसी को स्वरले गीतलाई थप जीवन्त बनाएको छ। गीतका शब्द वीरेन्द्र पौडेलले लेखेका हुन् भने संगीत संयोजन तारानाथ आचार्यले गरेका छन्।

डिजिटल स्टार, पोखरामा रेकर्ड गरिएको गीत रामजी पौडेलको युट्युब च्यानलमार्फत दर्शक तथा स्रोतामाझ सार्वजनिक हुँदैछ।
परदेशमा पसिना बगाइरहेका नेपालीको कथा, आफ्ना मान्छे र मातृभूमिको सम्झना तथा तीजको सांस्कृतिक भावनालाई एउटै कथामा जोडिएको ‘परदेशीको पीडाले तीज गीतको भीडमा छुट्टै

पहिचान बनाउने विश्वास गरिएको छ।
गीत सार्वजनिक हुनुअघि नै यसको पोस्टरले दर्शकको ध्यान तानेको छ। अब गीत सार्वजनिक भएपछि कस्तो प्रतिक्रिया पाउँछ भन्ने प्रतीक्षा रोचक बनेको छ।