११ महिनादेखि अमेरिका रहेका सांसद देउवा, लगातार २७ बैठकमा अनुपस्थित

काठमाण्डु २५ साउन । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा ११ महिनादेखि अमेरिकामा रहे पनि प्रदेशसभा सदस्यको पद कायमै रहेको छ। उनी पछिल्ला २७ वटा प्रदेशसभा बैठकमा लगातार अनुपस्थित छन्।

देउवा २०८२ भदौ २८ गते अमेरिका गएका थिए। उनले स्वास्थ्य समस्या देखाउँदै उपचारका कारण प्रदेशसभा बैठकमा उपस्थित हुन नसकेको जानकारी सभामुखलाई गराएका थिए। स्वास्थ्यमा सुधार भएपछि नेपाल फर्केर संसदीय जिम्मेवारीमा सक्रिय हुने बताएका भए पनि अहिलेसम्म नेपाल फर्किएका छैनन्।

सुदूरपश्चिम प्रदेशसभा नियमावलीअनुसार कुनै सदस्य लगातार १० वटा बैठकमा सूचनाविना अनुपस्थित भएमा पद रिक्त हुन सक्ने व्यवस्था छ। देउवा लगातार धेरै बैठकमा अनुपस्थित भए पनि हालसम्म उनको पद रिक्त भएको छैन। सभामुख भीम भण्डारीले यस विषयमा कानुनी तथा आन्तरिक परामर्श भइरहेको र केही दिनभित्र निर्णय हुन सक्ने बताएका छन्।

यसबीच प्रदेशसभा सचिवालयले देउवाको खातामा मासिक करिब ६८ हजार ५०० रुपैयाँ तलब तथा विभिन्न सुविधा बापत रकम पठाउँदै आएको छ। नेपाल प्रेसका अनुसार ११ महिनामा उनले तलब तथा सुविधाबापत ७ लाख ५३ हजार ५०० रुपैयाँ प्राप्त गरिसकेका छन्।

देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्र र प्रदेशसभाबाट अनुपस्थित रहेको विषयमा उनका मतदातामाझ पनि प्रश्न उठेको समाचारमा उल्लेख छ।