केपि कुमार जलन
म्याग्देली कलाकारहरूलाई एउटै सिर्जनामा जोड्दै तयार पारिएको तीज गीत ‘नजरैको तिर सानु’ सार्वजनिक भएको छ। अञ्जली जीसीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले म्याग्देली कलाकारहरूको सामूहिक सहकार्य र एकताको सुन्दर सन्देश बोकेको छ।
तीज पर्वलाई लक्षित गरेर तयार पारिएको गीतमा देवेन्द्र घिमिरे, शान्ता बरदवा, करण कँडेल, खिमा पुन मगर, विजय छिनाल, निशा भण्डारी, धुर्बा जीसी, दुर्गा रोक्का, शंकर पोखरेल र एकराज चापागाईं लगायतका कलाकारहरूको स्वर रहेको छ।
गीतका शब्द दिपक अधिकारीका हुन् भने शिव हमालको संगीत र महेन्द्र भण्डारीको संगीत संयोजन रहेको छ। गीतको निर्देशन सुनिल बानियाँले गरेका छन्।
गीतको भिडियो म्याग्दीका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ। बगरफाँट, लभ्ली हिल, चुगेनी तथा बौर बगरफाँट लगायतका स्थानमा गरिएको छायांकनले गीतमा स्थानीय परिवेश र म्याग्दीको प्राकृतिक सुन्दरतालाई समेत आकर्षक रूपमा प्रस्तुत गरेको छ।
धेरै म्याग्देली कलाकारहरूलाई एउटै सिर्जनामा समेटेर तयार पारिएको ‘नजरैको तिर सानु’लाई कलाकारबीचको सहकार्य र एकताको उदाहरणका रूपमा हेरिएको छ। एउटै गीतमा अग्रजदेखि अनुज पुस्तासम्मका कलाकार जोडिनु आफैँमा सकारात्मक र प्रशंसनीय प्रयास भएको प्रतिक्रिया आउन थालेको छ।
कलाकारहरू एक ठाउँमा उभिएर सिर्जना गर्नु नेपाली कला क्षेत्रका लागि पनि सुखद पक्ष हो। आगामी दिनमा अझ धेरै प्रतिभालाई समेट्दै यस्ता सामूहिक सिर्जनालाई निरन्तरता दिन सके म्याग्देली कलाकार र संगीत क्षेत्रलाई थप बलियो बनाउन सकिने अपेक्षा गरिएको छ।
गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ यसले कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ। सामाजिक सञ्जालमार्फत गीतको प्रचार–प्रसारलाई थप व्यापक बनाउन सके तीजको अवसरमा गीतले राम्रो दर्शक तथा श्रोता पाउने अपेक्षा गरिएको छ।
‘नजरैको तिर सानु’लाई अञ्जली जीसीको युट्युब च्यानलमा हेर्न तथा सुन्न सकिनेछ। सम्पूर्ण दर्शक तथा श्रोतालाई गीत हेरेर, सुनेर आफ्नो प्रतिक्रिया, माया र साथ दिन आग्रह गरिएको छ।
म्याग्देली कलाकारहरूको यो सामूहिक प्रयासलाई करोड–करोड शुभकामना तथा गीतको पूर्ण सफलताको हार्दिक शुभकामना!


















