नेपाल आयल निगमले शनिबार र आइतबार मात्रै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १६ हजार ३०० भन्दा बढी सिलिन्डर ग्यास बिक्री वितरण गरेको छ। यससँगै आज (सोमबार) देखि भने सम्बन्धित ग्यास उद्योगहरूद्वारा नियुक्त गरिएका आधिकारिक बिक्रेतामार्फत नै ग्यास बिक्रीवितरण हुने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
निगमले उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने सम्बन्धित ग्यास बिक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ। पछिल्लो चार महिनासम्म आधा सिलिन्डर ग्यास बिक्री वितरणको व्यवस्था गरिएकोमा गत असार ३१ देखि पुनः १४.२ किलोकै पूरा सिलिन्डर ग्यास उपलब्ध गराउन थालिएपछि बजारमा एकाएक ग्यासको अभाव देखापरेको थियो।
सहज रूपमा ग्यास नपाइएको गुनासो बढेपछि निगमले गत शनिबार र आइतबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट विभिन्न कम्पनीका ग्यास बिक्री वितरण गरेको थियो।
जसअनुसार शनिबार काठमाडौंको टेकु, बबरमहल, चाबहिल, कीर्तिपुर र वसुन्धाराका केन्द्रहरूबाट ६ हजार ८०२ थान सिलिन्डर बिक्री गरिएको थियो।
त्यसैगरी आइतबार टेकु, बूढानीलकण्ठ, कीर्तिपुर, नयाँबजार, तारकेश्वर, चन्द्रागिरि र भक्तपुरको थिमी लगायतका सातवटा बिक्री केन्द्रमार्फत ९ हजार ५६८ थान सिलिन्डर वितरण गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन्। यसरी दुई दिनको अवधिमा कुल १६ हजार ३०० भन्दा बढी सिलिन्डर ग्यास उपभोक्तामाझ पुर्याइएको छ।
बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउन निगमले ग्यास उद्योगहरूका लागि कडा निर्देशिका जारी गरेको छ। अब दैनिक रूपमा बिक्री गर्ने बिक्रेता वा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर सङ्ख्यासहितको विस्तृत विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगमलाई उपलब्ध गराउनुपर्नेछ।


















