केपि कुमार जलन
तीज पर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रका चर्चित निर्देशक तथा डान्सर शंकर विसीले विगतका तीजका दिनहरूलाई सम्झँदै भावुक अभिव्यक्ति दिएका छन्। हाल अमेरिका रहेका विसीले यसपटकको तीजमा आफू सांगीतिक क्षेत्रमा सक्रिय हुन नपाउँदा खल्लो महसुस भइरहेको बताएका छन्।
विसीका अनुसार उनले आफ्नो लामो सांगीतिक यात्रामा अभिनय तथा निर्देशन गरेका ६–७ हजारभन्दा बढी गीतमध्ये करिब १५ सयदेखि २ हजारसम्म तीज गीत रहेका छन्। तीजको प्रत्येक सिजनमा ८० देखि ९० वटासम्म गीतमा निर्देशन तथा अभिनय गर्दै आएका उनले करिब १८–२० वर्ष यसैगरी बिताएका छन्।
“तीज महिलाहरूलाई भन्दा मलाई लाग्ने गर्थ्यो,” भन्दै विसीले विगतका तीज सिजन सम्झिएका छन्। गत वर्ष पनि उनले ‘पारी–पारी आएका’, ‘ढाका टोपी लाएका’ र ‘लालाजी’ जस्ता चर्चित गीतमा निर्देशन तथा अभिनय गरेका थिए। तीमध्ये केही गीत करोड क्लबमा समेत प्रवेश गरेको उनको भनाइ छ।
यसपटक अमेरिका रहेका कारण तीजका गीतमा आफू प्रत्यक्ष सहभागी हुन नपाउँदा उनलाई आफ्ना सहकर्मी, सर्जक, कलाकार, प्राविधिक तथा म्युजिक कम्पनीका साथीहरूको झन् बढी सम्झना आएको छ।
आफ्नो सांगीतिक यात्रामा अवसर र साथ दिने सम्पूर्ण सर्जक तथा कम्पनीप्रति आभार व्यक्त गर्दै विसीले उनीहरूको योगदानकै कारण आफू आजको उचाइसम्म पुग्न सफल भएको बताएका छन्।
उनले आफन्त, साथीभाइ, कलाकार, प्राविधिक, पत्रकार तथा सम्पूर्ण शुभचिन्तकलाई सम्झँदै “अर्को वर्षको तीजमा हाम्रो भेट अवश्य हुनेछ” भन्दै सबैप्रति माया, सम्मान र सम्झना व्यक्त गरेका छन्।
शंकर विसीको यो भावुक सम्झनाले नेपाली तीज गीत–संगीतमा उनले पुर्याएको लामो योगदान र तीजसँग जोडिएको उनको गहिरो सम्बन्धलाई पुनः सम्झाइदिएको छ।

















