मेटासँग अर्बौं डलर क्षतिपूर्ति माग,फेसबुक र इन्स्टाग्राममार्फत् बालबालिकालाई लत लगाएको दाबी

यो मुद्दा सन् २०२३ मा क्यालिफोर्निया र न्युयोर्कसहित अमेरिकाका २९ राज्यले दायर गरेको मुद्दाबाट अघि बढेको हो । ती राज्यले बालबालिकासम्बन्धी संघीय तथा राज्यस्तरीय गोपनीयता कानुनको मेटाले पटक–पटक उल्लंघन गरेको आरोप लगाएका छन् ।

राज्यहरूले मेटासँग अर्बौं डलर क्षतिपूर्ति माग गर्नुका साथै इन्स्टाग्राम र फेसबुकमा ‘लाइक’को संख्या देखाउन बन्द गर्नेदेखि अनन्तसम्म स्क्रोल गर्न मिल्ने सुविधा हटाउनेसम्मका परिवर्तन गर्न माग गरेका छन् ।

मुद्दामा मेटाका प्रमुख वकिलमध्येका पाउल स्मिटले क्यालिफोर्नियाका प्रमुख वकिल मेगन ओ’निलले राज्यका तर्फबाट प्रारम्भिक बहसमा प्रस्तुत गरेको मेटाको आन्तरिक अनुसन्धान प्रतिवेदनबारे प्रत्यक्ष जवाफ दिए ।

ओ’निलले जुरीसमक्ष देखाएको मेटाको दस्तावेजमा ‘पाँचमध्ये एक किशोरकिशोरीले इन्स्टाग्रामले आफूलाई झन् नराम्रो महसुस गराउने बताएका छन्’ भन्ने उल्लेख थियो । ‘त्यो सुन्दा निकै खराब देखिन्छ,’ स्मिटले भने ।

तर उनले त्यसै दस्तावेजमा ४१ प्रतिशत किशोरकिशोरीले इन्स्टाग्रामले आफूलाई राम्रो महसुस गराएको र थप ४१ प्रतिशतले कुनै प्रभाव नपारेको बताएको तथ्य पनि रहेको उल्लेख गरे ।

स्मिटले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई आफ्ना प्लेटफर्म प्रयोग गर्नबाट रोक्न मेटा असफल भएको र फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्न किशोर तथा बालबालिकालाई जानाजानी ‘लतमा फसाएको’ भन्ने राज्यहरूको दाबीमा समेत प्रश्न उठाए । उनका अनुसार यी प्लेटफर्म नै लत लाग्ने गरी डिजाइन गरिएको भन्ने दाबी पनि सही होइन ।