वैदेशिक रोजगारीका लागि मेनपावरमार्फत बिदेसिने नेपालीको संख्या आर्थिक वर्ष २०८२/८३ मा २ लाख ६८ हजार ९९० जना रहेका छन् । वैदेशिक रोजजगार विभागका अनुसार आर्थिक अघिल्लो आर्थिक वर्ष यस्तो संख्या ३ लाख ५९ हजार ६७५ थियो । एक वर्षमा मेनपावरमार्फत विदेश जानेको संख्या ९० हजार ६८५ ले घटेको हो ।
विभागको असार मसान्तसम्मको तथ्यांकअनुसार गत आर्थिक वर्ष ७ लाख ९२ हजार १८७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्ष यस्तो संख्या ८ लाख ३९ हजार २६६ थियो । यस आधारमा एक वर्षमा श्रम स्वीकृति लिनेको संख्या ४७ हजार ७९ अर्थात् ५.६ प्रतिशतले घटेको छ । कुल श्रम स्वीकृति लिनेमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला छन् । यसअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये पुरुषको हिस्सा ८८ प्रतिशत र महिलाको करिब १२ प्रतिशत छ । ठूलो संख्यामा नेपाली श्रमिक विदेशीय पनि वैदेशिक रोजगारी अझै पुरुषकेन्द्रित रहेको तथ्यांकले देखाउँछ ।

















