काठमाडौं, असोज ५, २०८३ — नेपाल हस्तकला महासंघ र नेपाल कुरियर सेवा संघबीच हस्तकला तथा निर्यात व्यवसायलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले द्विपक्षीय समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।
महासंघको कार्यालयमा आयोजित कार्यक्रममा हस्तकला व्यवसायी तथा निर्यात क्षेत्रसँग सम्बन्धित विषयमा दुई संस्थाबीच सहकार्य गर्ने समझदारी भएको हो।
समझदारीअनुसार हस्तकला वस्तुको निर्यात प्रवर्द्धनका लागि नीतिगत तथा प्रक्रियागत सहजीकरण, हस्तकलाको बजारीकरणमा सहयोग र निर्यातसम्बन्धी कामलाई सहज बनाउने विषयलाई प्राथमिकता दिइनेछ।
त्यसैगरी, निकासीका क्रममा सहज वातावरण सिर्जना गर्ने, सहुलियत तथा सहजीकरणका लागि पहल गर्ने, निकासीसम्बन्धी चुनौती समाधान गर्न संयुक्त रूपमा काम गर्ने र उपलब्ध अवसरको प्रभावकारी उपयोग गर्ने विषयमा पनि दुई संस्थाबीच सहकार्य हुने जनाइएको छ।
समझदारीपत्रमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य र नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राजभण्डारीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपालको हस्तकला क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा वस्तु निर्यात गर्दै आएको अवस्थामा कुरियर तथा ढुवानी सेवासँगको समन्वयले निर्यात प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाल कुरियर सेवा संघले पनि निर्यात क्षेत्रमा कुरियर सेवाको महत्वपूर्ण भूमिका रहेको बताउँदै आएको छ।


















