सरकारको यही रवैया रहे हाम्रो घर पनि जल्नबाट जोगाउन मुस्किल पर्छ: सांसद राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका जल्दाबल्दा प्रश्नको जवाफ दिन चुकेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद राईले अधिवेशनको अन्तिम दिनसम्म पनि सरकार प्रमुखबाट प्रतिपक्ष र जनताले उठाएका प्रश्नको जवाफ पाउन नसकेको बताएका हुन्।

संसद्मा जनसरोकारका विषय उठाए पनि त्यसको जिम्मेवार ढङ्गबाट सम्बोधन नभएको भन्दै उनले असन्तुष्टि जनाए।

‘हामीले जनताका धेरै प्रश्न सदनमा उठायौँ, तर सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट त्यसको जवाफ दिन सक्नुभएन। आज म जनताको घर–आँगनमा फर्किँदा रित्तो हात फर्किँदै छु,’ राईले भने।

उनले वर्तमान सत्ता समीकरणप्रति पनि व्यङ्ग्य गर्दै इतिहासका चुनावी सन्दर्भसँग तुलना गरे। राजनीति शास्त्रको विद्यार्थीको हैसियतले २०१५ र २०६४ सालका निर्वाचन परिणामको स्मरण गर्दै उनले सत्ता टिकाउने अंकगणितमा मात्र केन्द्रित नभई पाँच वर्ष सरकार सञ्चालन गर्ने र सुशासन कायम गर्ने दिशामा अघि बढ्न सत्तापक्षलाई आग्रह गरे।

राईले सत्ताको अंकगणितमा दुई तिहाइको नजिक देखिए पनि जनताको म्यान्डेट र विपक्षमा रहेको जनमतलाई बेवास्ता गर्न नहुने बताए।

‘मलाई त डर लागिरहेको छ, हिजो २३ र २४ को आन्दोलनतिर पुरानो दल भनिएको नेताहरूका गतिविधिको कारणले भ्रष्टाचार गर्‍यो, धेरै पैसा कमायो भनेर घरहरू जलेको थियो। अब हामीले आफ्नो घर जोगाउनै मुस्किल पर्ने अवस्था नआओस्,’ उनले चेतावनी दिए।

उनले भ्रष्टाचार, राजनीतिक दलहरूको कार्यशैली तथा जनअपेक्षाविपरीतका गतिविधिका कारण विगतमा भएका आन्दोलन र विद्रोहबाट सरकारले पाठ सिक्नुपर्ने बताए।