रुपन्देहीमा असार ११ गतेदेखि बालबालिकालाई फाइजर खोप दिइने

असार ५ :  रुपन्देहीमा असार ११ गतदेखि बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । यो खोप प्रथम चरणमा जिल्लाका १६ पालिकामध्ये लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिकामा लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । असार ११ देखि १४ गतेसम्म पहिलो चरणको खोप कार्यक्रम सकिनेछ ।

त्यस्तै, दोस्रो चरणमा असार १५ देखि १८ गतेसम्म बाँकी ११ वटा पालिकामा लगाइने कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार खोप अभियान एक स्थानीय तहमा एकै चरणमा सम्पन्न गरिनेछ । यो खोप ५ वर्षदेखि ११ वर्षसम्म बालबालिकाहरुलाई लगाइनेछ ।

जिल्लामा लक्षित जनसंख्या ५ वर्षदेखि ११ वर्ष उमेरका १ लाख ३१ हजार ५ सय ५७ जनालाई फाइजर खोप लगाइनेछ ।