असार ७ : अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन् । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।
नेम्वाङले ४५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी शेर्पाले ३९ मत पाए । कुल ८४ मत खस्दा स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् । अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष नेम्वाङले तत्कालको लागि एन्फा र जिल्ला, एन्फा र खेलाडी तथा फिफा र एएफसी सम्बन्ध अझै सुमधुर बनाउँदै लैजाने बताए ।
नव निर्वाचित अध्यक्ष नेम्वाङले खेलाडी र प्रशिक्षकको विवाद पहिलो बैठकबाट निर्णय गर्ने थपे । एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज प्यानलकै बिर बहादुर खड्का निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्धन्द्धी शिक्षित पराजुलीलाई ४ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।
बिर बहादुरले ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी पराजुलीले ४० मत पाए । यस्तै उपाध्यक्षमा पंकज प्यानलका दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र कर्मा प्यानलबाट दीर्घ बहादुर केसी (कुमार) निर्वाचित भएका छन् ।
दावाले सर्वाधिक ४८ मत ल्याए । विराट र दीपकले समान ४७ मत ल्याए । कर्मा प्यानलका दीर्घले पंकज प्यानलका सुन्दर नरसिंह जोशीलाई १ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भए । दीर्घले ४२ तथा सुन्दरले ४१ मत पाए । उपेन्द्रमान सिंह र विज्ञान राज शर्माले समान ३७ मत तथा रत्न कुमार श्रेष्ठले ३६ मत पाए । महिला सदस्यमा पंकज प्यानलकी सरिला श्रेष्ठ र कर्मा प्यानलकी पेमा डोल्मा लामा निर्वाचित भएका छन् । सरिलाले ४६ तथा पेमाले ४३ मत पाइन् ।
कर्मा प्यानलबाट उमेदवार रहेकी विना श्रेठले ४० तथा पंकज प्यानलकी विन्द्रा देवानले ३९ मत पाइन् । दुई महिला सदस्यका लागि चार जना चुनावी मैदानमा रहेका थिए । एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट १३ सदस्यमध्ये ११ जना निर्वाचित हुँदा थप दुई जनाको लागि पुनः निर्वाचन हुने भएको छ ।
खुल्ला १३ सदस्यमध्ये ११ जना निर्वाचित हुँदा चार जना उमेदवारको समान ३९ मत आएपछि गोलाप्रथा गरिने भनिएपनि विशेष साधरण सभाबाट चार जनाबीच निर्वाचन गराई दुई सदस्य छानिने एन्फाले जनाएको छ ।


















