एसीसी महिला च्याम्पियनसिपः युएईले नेपाललाई दियो ८२ रनको लक्ष्य

असार १०ः आश्मिना कर्माचार्यले युएईको ५ विकेट लिएपछि फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको छ।

मलेसियामा जारी एसिसी महिला टी २० च्याम्पियन सिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा अलआउट हुँदै ८१ रनमा समेटियो । युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन्।

उनले ११ बलमा एक चौका प्रहार गरिन्। यता, इशा रोहितले २१ बलमा २ चौकासहित १५ रन बनाइन्। कप्तान छाया मुघलले १९ बलमा १ चौकासहित १४ रन जोडिन्।

यस्तै, खुसी शर्माले १९ बलमा १२ रनमा बनाएर विकेट गुमाइन्। युएईका आधा दर्जन ब्याटरले भने नेपालविरुद्ध दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिइन्।

उनले ३.५ ओभर बलिङ गर्दै १० रन दिएकी थिइन्। यस्तै, उपकप्तान इन्दु वर्माले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर ३ विकेट लिइन्।