सरकार उद्योगी, व्यवसायीका समस्या प्रति गम्भीर छ : गृहमन्त्री खाण

असार १०ः गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै मन्त्री खाणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “पोखरा, काठमाडौँ, झापा, चितवन, भैरहवालगायतका पर्यटकीय सहरमा चौबिसै घण्टा होटल रेष्टुरेन्ट सञ्चालन हुने र आवश्यक सेवा दिनेगरी काम गर्ने वातावरण सरकारले मिलाउनेछु।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा अन्तःशुल्कको प्रयोग गलत भएको बताउँदै कच्चापदार्थमा यस्तो शुल्क लिन नहुने धारणा राखे।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक सङ्घीयतामा जाँदा तीन तहका सरकारको सहयोग र समन्वयबाट मुुलुकको विकास हुने अपेक्षा निजी क्षेत्रले गरेको तर निजी क्षेत्रले सोचेजस्तो तीन तहका सरकारबाट समन्वय हुन नसकेको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विद्युतीय समस्या नै लुम्बिनी प्रदेशका उद्योगको मुख्य समस्या भएको बताए। उनले बुटवल पाल्पा सडकखण्डको जोखिमले पनि उद्योगलाई नोक्सान पुर्‍याउँदै आएको बताए।

सो कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीले बुटवल मोतिपुर औद्योगिक क्षेत्र, नेपालगञ्ज औद्योगिक क्षेत्रको व्यवस्थापन जरुरी तथा गुल्मीको कफी, रोल्पा रुकुम र प्युठानको जडीबुटीको औद्योगिकरणमा राज्यले ध्यान दिनु आवश्यक रहेकामा जोड दिएका थिए।