असार ११ : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा रहेका २ सय १६ वटा पहिरोका कारण बस्ती जोखिममा परेका छन् ।गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २ सय १६ पहिरो रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा परेका हुन् । पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । ती बस्तीको संरक्षणका लागि पालिकाले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गरेर कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाँड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जनभन्दा बढी बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयवासीन्दाले गुनासो गरेका छन् ।


















