अमेरिकाले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने, विश्व बजारमा सुनको भाउ आकाशिने अनुमान

असार १३ : अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । जी सेभेन सम्मेलनका लागि जर्मनीमा रहेका अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई थप आर्थिक दबाव बढाउनका लागि यस्तो घोषणा गरेका हुन् ।

अमेरिकी उक्त निर्णय जी सेभेन बैठकबाट समेत अनुमोदन गराइने अपेक्षा गरिएको छ । जी सेभेन बैठकमै रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि अमेरिकी राष्ट्रपति बाइडेनले गरेको सोही घोषणाको स्वागत गरेका छन् । त्यस्तै क्यानाडा र जापानले स्वागत गरिसकेका छन् । इन्धनपछि रुसले सुन निर्यातबाट विदेशी मुद्रा आर्जन गर्ने गर्दछ ।

गत वर्ष मात्रै रुसले सुन निर्यातबाट १९ अर्ब डलर कमाएको थियो । जी सेभेनलगायतका देशहरुले रुसी सुन खरिद रोक्दा विश्व बजारमा सुनको भाउ पनि आकाशिने अनुमान गरिएको छ । विश्व सुन बजारमा रुसी सुनको आपूर्ति कम्तिमा ५ प्रतिशत रहेको छ ।