पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

असार १५ : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यविन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

मङ्गलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले डाइभर्सन बगाएको हो ।