महाकाली सन्धि भएको २६ वर्षपछि टनकपुर ब्यारेजबाट पहिलो रोपाइँ

असार १६ः महाकाली नहरमा पानी सञ्चालनको शुभारम्भ भएको छ, भारतसँगको एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले टनकपुर ब्यारेजबाट पाएको पानीले पहिलो पटक रोपाइँ गरिएको छ।

टनकपुरबाट छाडिएको पानी बुधबार महाकाली सिँचाइ तेस्रो चरणको मूल नहरअन्तर्गत बेदकोट नगरपालिका–४ बगुनमा पुगेपछि धान दिवस मनाइएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले धान रोपेर महाकाली नहरमा पानी सञ्चालनको शुभारम्भ गरेका हुन्।

‘सरकारले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएपछि यसको कामले गति लिएको छ’, आचार्यले भने, ‘कैलालीको मालाखेती र कञ्चनपुरको त्रिभुवन बस्तीसम्म सिँचाइ सुविधा उपलब्ध गराउन विभागले तीव्र काम गरिरहेको छ। ढिलै भए पनि महाकाली सन्धि कार्यान्वयन भएको महानिर्देशक आचार्यले बताए।

मुख्यमन्त्री भट्टले यो आयोजनाले कञ्चनपुर, कैलालीको ठूलो भू–भागमा सिँचाइ सुविधा पुग्ने भएकाले यहाँको उत्पादकत्व बढ्ने बताए। नहर बनेपछि कैलाली र कञ्चनपुरको ३३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने आयोजना कार्यालयले जनाएको छ। नेपालतर्फ निर्माण सम्पन्न भएको साढे २८ किलोमिटर मूल नहरको परीक्षणपश्चात् १० क्युसेक पानी नियमित रूपमा छाडिने जनाइएको छ।

अहिले शाखा नहर नबन्दा उक्त पानी मुसेपानी र स्याली नदीमा छोड्ने तयारी आयोजनाको छ। शाखा नहरहरू निर्माण नभएका कारण अहिले नदीमा छाड्नु परेको पण्डितको भनाइ छ । मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माण प्रक्रिया पनि सुरु भएको छ। २२ वटा शाखा नहर निर्माणका लागि जमिन अधिग्रहणदेखि डिजाइन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

२०६३ मा निर्माण सुरु भएको उक्त आयोजनाको हालसम्म साढे २८ किलोमिटर मूल नहर निर्माण भएको छ। थप १० किलोमिटर नहर निर्माणको प्रक्रिया अघि बढेको छ। दुई वर्षअघि उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेपछि निर्माण कार्यले गति लिएको हो।