अवरुद्ध दशरथचन्द राजमार्ग दोहोरो सञ्चालनमा

असार २०:  पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

वर्षा सुरुभएसंगै देशभरका जनजिवन प्रभावित भएको छ, ठाँउ ठाँउमा पहिरो जानु बाटो अबरुद्ध हुनुले यात्रुलाई सास्थी भएको छ , यस्तै पहिरोको कारण दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो।

अवरुद्ध बनेको राजमार्ग आज बिहान ४ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रहरी प्रवक्ताले जानकारी दिए । उनका अनुसार राति ९ बजे एकतर्फी सञ्चालनमा आएको भए पनि पूर्णरूपमा भने आज बिहान मात्रै खुलेको हो।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको डोजरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । राजमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका यात्रु सडक खुलेसँगै आ–आफ्नो गन्तव्यमा गएका छन्।

हाललाई सडक सञ्चालनमा आएको भए पनि वर्षा भएपछि उक्त स्थानमा पहिरो खस्ने सम्भावना कायमै रहेको प्रहरीको भनाई छ ।