विश्वकप लिग २ः स्कटल्यान्ड र ‌नामिबियासँग नेपालको परीक्षा

असार २६ः विश्वकप लिग २ क्रिकेटअन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नेपालले स्कटल्यान्डमा सोमबार नामिबियासँग खेल्ने तय भएको छ ।

विश्वकप लिग-२ मा नेपालले स्कटल्यान्ड र नामिबिया दुवैसँग पहिलोपटक खेल्न लागेको हो । तालिकामा स्कटल्यान्ड २० खेलबाट २८ अंक जोडेर सात टोलीमध्ये दोस्रोमा छ । सबै खेल खेलिसकेको ओमानको ३६ खेलबाट ४४ अंक छ । नेपाल १६ खेलबाट १५ अंक जोडेर पाँचौं स्थानमा छ ।

नेपालले हालैमात्र अमेरिकामा भएको त्रिकोणात्मक शृंखलामा ओमानसँग एक खेल जितेको थियो भने अमेरिकासँग एक खेलमा अंक बाँडेको थियो । बाँकी दुई खेलमा हार ब्यहोरेको थियो । तीमध्ये ओमानसँग २१२ रनको लक्ष्य पछ्याउँदा १९८ रनमा सीमित भएको थियो । त्यस्तै अमेरिकासँग २४६ रनको लक्ष्य पछ्याउँदा २०६ रनमा सीमित भएको थियो । नेपाललाई तालिकाको तीनभित्र स्थान बनाउन स्कटल्यान्डमा भइरहेको शृंखलामा आफू अनुकूल नतिजा अत्यावश्यक छ।

तालिकाको शीर्ष तीनभित्र स्थान बनाउन नसक्ने टोलीहरुले विश्वकप छनोटका लागि प्ले अफ खेल्नेछन् । ६ टोली सहभागी हुने प्ले अफबाट २ वटा टोलीले विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउनेछन् । नेपाली टोलीको सबैभन्दा बढी चिन्ताको विषय यतिबेला ब्याटिङमा देखिएको छ। स्कटल्यान्ड जानुअघि क्यानडामा तयारी गरेको नेपालले त्यहाँको राष्ट्रिय टोलीसँग भएको एकदिवसीय खेलमा ८४ रनको हार ब्यहोरेको थियो । १८९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाली टोली १०४ रनमा समेटिएको थियो ।

कप्तान सन्दीप लामिछानेले टीमबाट अपेक्षित सहयोग नपाएको संकेत झल्कने स्टाटसहरु सामाजिक सञ्जालहरुमा लेखिरहेका छन् । ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तान बनाएपछि टीमभित्रको वातावरण बिग्रिएको आशंका भइरहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उपकप्तान रोहित पौडेल नेपाली टोलीका सर्वाधिक रन बनाउने ब्याट्सम्यान रहेका छन् । उनले २१ खेलमा एक शतक र पाँच अर्धशतकसहित ७४७ रन जोडेका छन् ।

आरिफ शेखले २२ खेलका १९ पालीमा तीन अर्धशतकसहित ४३७ र उनका भाइ आसिफले १२ खेलमा तीन अर्धशतकसहित ३५५ रन जोडेका छन् । कुशल भुर्तेलले १५ खेलमा तीन अर्धशतकसहित ३२८ रन बनाएका छन् ।