असार २६ : यतिबेला देशमा असार मसान्तको चतारो बेस्सरि लागेको छ , अहिलेसम्म काममा खासै प्रगति विवरण देखाउन नसकेका स्थानीय पालिकालाई चालु आर्थिक वर्षको बजेट खर्च गर्न भने निकै हतारो देखिन्छ ।
हिजो अर्थात शनिवार मात्रै एकै दिन २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको तथ्य बाहिरीएको छ ।
आर्थिक वर्ष २०७८ र ७९ को खर्चअन्तर्गत शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको हो । शनिबार महालेखा नियन्त्रक कार्यालयले भुक्तानी दिनू भनेर सूचना निकालेपछि सो रकम भुक्तानी भएको हो ।
चालू आवमा १६ खर्ब ३२ अर्ब पूँजीगत खर्च मध्ये १२ खर्ब ३७ अर्ब ७० करोढ रुपैंया खर्च भएको छ । विकास खर्च ३ खर्ब ७८ अर्ब रुपैयाँमा १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ खर्च भएको छ ।
चालु आवमा ११ खर्ब ८० अर्ब ६० करोड राजस्व संकलन गर्ने लक्ष्य सरकारले राखेको थियो । शनिबारसम्म १० खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको थियो। असारमसान्त नजिक रहेसंगै बजेट सदुपयोग देखाउन मनोमानी रुपमा पूँजीगत खर्च देखाएर बिल पास गर्ने जमात बढेको महालेखाको गुनासो छ ।


















