७४ लाखको हार्डवेयरका पार्टस बोकेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

साउन ६ः हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ।

करिब रु ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस बिल विजक भन्दा बढी हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको ना ६ ख ५२७३ नंको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी दिएका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित सडकखण्डमा उक्त मालवाहक ट्रकलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएको उक्त ट्रक र सामानको समेत गरी रु ७४ लाख ८७ हजार २२३ मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले बताए।

उक्त ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिलबिजक शङ्कास्पद देखिएको तथा बिलबिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस लोड गरिएको भेटिएपछि सामानसहित ट्रकलाई नियन्त्रणमा लिइएको थियो।