खरानी समेत नेपालमा आयात गर्ने रहेछौ यो सुनेर म छक्क परे सभामुख: सापकोटा

साउन ९ :सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा खरानी पनि आयात हुन्छ भनेको सुन्दा दुःख लागेको बताउनुभएको छ ।

आज सोमवार काठमाण्डौमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताउनु भएको हो । उहाँले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्बर भूमिमा दुई खर्ब ५० करोड रुपैयाँको खाद्यवस्तु आयात हुनु दुःखद भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी कति बिडम्वनापूर्ण स्थितिमा बाचिरहेका छौँ भने नेपाल जस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं । जनै लाउँछौँ तर नलगाउनेले चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ ? यो सुनेर आफैँ अचम्मित छु । दुई खर्ब ५० करोड रुपैयाँको हामी खाद्यवस्तु आयात गर्छौं । योभन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ र ?

सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तर्विरोध मडारिन थालेको बताउनुभयो । उहाँले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताउनुभयो । नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।