साउन १३ : हेटौंडा उपमहानगर पालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ।
उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो । खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागु हुनेछ ।
हेटौंडाका उपप्रमुखका अनुसार खानेपानी बोर्ड अन्तर्गत जडान भएका झण्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागु हुनेछ।
उपमहानगरले खानेपानी बोर्डमार्फत नगरवासीलाई उक्त सुविधा दिन लागेको हो। यसबाट नगरका एक लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ।
खानेपानी उपलब्ध गराए वापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक रु दुई करोड ३९ लाख ७० हजार उपलब्ध गराउने जनाइएको छ।
हाल बोर्डले उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै क्षेत्र र थप छ वडाका केही क्षेत्रका एक लाख ४५ हजार नागरिकलाई २१ हजार सात सय ५० धारामार्फत दैनिक एक करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको बोर्डले जनाएको छ।


















