बागमती प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबुर श्रेष्ठले घरेलु तथा साना उद्योगको समस्या बुझ्न र नीतिगत रुपमा दीर्घकालीन समाधानको उपाएको खोजी गरेका छन्।
मन्त्री श्रेष्ठले घरेलु तथा साना उधोग व्यवसायी महासंघ महालक्ष्मी नगर इकाइका अध्यक्ष बसन्तकुमार महर्जनको व्यवसायीक फर्मको निरीक्षणसमेत गरे। उक्त अवसरमा उनले स्वदेशी उत्पादनलाई स्वादेशमै खपत गर्न र स्वदेशी उत्पादन गुणस्तरीय र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने गरी प्रवर्द्धन कसरी गर्न सकिन्छ भनेर सरकार लागेको र व्यवयासीहरू पनि सोहीअनुसार लाग्न आग्रह गरे।

उनले व्यवसायीको समस्या समाधानका लागि आफू सदैव तयार रहेको प्रतबद्धता पनि व्यक्त गरे। स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्न आफूले उद्यमी भेटेर प्रोत्साहन गर्ने काम गरिरहेको मन्त्री श्रेष्ठको भनाइ छ।
ललितपुरलाई हस्तकलाको नमुना जिल्लाको रुपमा चिनाउने र नेपाली कपडा प्रयोग गर्न यही जिल्लाबाट अभियान सुरु गर्नुपर्ने पनि उनी बताउँछन्। महिला उद्यमीको तर्फबाट रचना श्रेष्ठले नीतिगत तथा व्यापारिक हिसाबमा पनि सरकारले थोरैमात्रै सहायता प्रदान गरे व्यवसायीको समस्या समाधान हुने बताइन्।

समग्र उद्यमीको समस्याको बारेमा बसन्त कुमार महर्जनले राज्यबाट ठूलो आशाभन्दा पनि साना साना कुराले समस्या परेकाले त्यस्ता समस्या हलका लागि सहजीकरणको आवश्यकता व्यापारीहरूले गरेको बताए।



















