तीजको बेला गहनाको माग उच्च, आवश्यक सुन नपाउँदा व्यवसायी भने मर्कामा

हिन्दू नारीहरूको महान पर्व तीजको रौनकले छोइसकेको छ। महिलाहरू रंगीविरंगी कपडासँगै गरगहनाले सजिएर कोही माइती हिँडेका छन् भने कोही दर खान तथा विभिन्न कार्यक्रममा। कोही भने सुन चाँदी पसलमा गहना बनाउन गएका देखिन्छन्।

यो पर्वको बेला व्यापारिक हिसाबले सुन तथा रातो कपडाको व्यापार राम्रोसँग फस्टाउँछ। यसैसन्दर्भमा सुनको व्यापारको बारेमा व्यवसायीहरूसँग बुझ्दा उनीहरू सुन व्यापार बढे पनि माग भएजति सुन नपाउँदा मर्कामा परेको बताएका छन्।
हालसालै काठमाडौँ न्युरोडमा आफ्नो शाखा विस्तार गरेका युवा व्यवसायी ईश्वर लगुन पनि सुन नपाँउदा भने अनुसारका गहना डिजाइन गरेर राख्न नसकेको गुनासो गर्छन्।

तनहुँ दमौलीको सीता सुन चाँदी पसलको शाखाको रुपमा खोलिएको एरा एन्ड सीता ज्वेलर्समा सबै किसिमका गरगहना सुन चाँदी, हिराका गहना पाइन्छ। व्यापारको हिसाबले संतोषजनक रहे पनि सुन नपाउँदा अलि असहज भएको उनको भनाइ छ।

त्यस्तै ललितपुर स्कुलचोकमा रहेको आर बी ज्वेलर्सका प्रोपाइटर युवा व्यावसायी रन्जित विकको पनि गुनासो यस्तै छ। सुन चाँदी व्यवसायी संघले महिनामा जम्मा अठार ग्राम मात्रै सुन दिने र अरु आवश्यक सुन बाहिरबाट किन्नु पर्दा तोला मा तीन हजार भन्दा बढी रकम तिरेर किन्नु पर्ने बाध्यता रहेको उनी बताउँछन्।

राष्ट्र बैंकले सुनचाँदी व्यवसायीको राष्ट्रिय महासंघअन्तर्गत दिनमा १० किलोमात्रै सुन दिने हुँदा समस्या भएको छ। कम्तिमा पनि दिनको ४० किलो सुन उपलब्ध हुन सके व्यवसायीलाई सहज हुने उनको अनुमान छ। त्यस्तै अर्का युवा व्यवसायी ईमाडाेलस्थित मनकामना ज्वेलर्सका प्रोपाइटर अमर विक पनि महिनामा सत्र/अठार ग्राम सुन पाउने र त्यही पनि समयमै नपुगे अन्तै बेचिदिने गर्नाले समस्या भएको बताउँछन्।
राज्यले सुन आयात तथा वितरणमा अंकुश लगाउँदा व्यापारीलाई धेरै मार परेको बताइन्छ।