राजनीतिक चेतका लागि उनि २०६० साल तिरै तयार भइसकेका थिए । कम्युनिष्टका कार्यहरुबाट कलिलै उमेरमा उनि प्रभावित भए । नेकपा(एमाले)को ब्यानरमा आयोजना भइरहने कार्यक्रमबाट उनि बढी प्रभावित थिए ।
फलस्वरुपः २०६० साल ताका अनेरास्ववियुको स्कुल कमिटिमा उनि उपयुक्त देखिए र नेतृत्वको जिम्मा पनि पाए । ऊ बेला प्रायः ९ कक्षाबाट अध्यक्ष चुनिन्थे । प्रखर शैलीकै कारण सबैको सहमतिमा कक्षा ८ पढ्दै गर्दा जनचेतन उच्च माविमा अनेरास्ववियुको अध्यक्ष बनेका थिए ।
विद्यालयमा रेडक्रसको समेत सफल अध्यक्ष भएका उनि गाउँमै देउसी भैलो मार्फत उठेको रकम सामाजिक कार्यमा खर्चिन्थे । समाजलाई अघि बढाउने हुटहुटी उमेरसँगै बढ्दै थियो ।समाजले उनिप्रति अझ बढी विश्वास गर्न थाल्यो , जब उनले तत्कालिन निर्मलपोखरी गाविस २, हाल पोखरा २१ स्थित अभियान मार्गमा गोरेटो बाटो निर्माणलासगि सशक्त पहल सुरु गरे ।गोरेटो बाटोका लागि तत्कालिन स्थानीय विकास अधिकारी(एलडिओ) नरहरी बरालको प्रमुख अतिथ्यतामा ७ हजार मात्रै बजेट छुट्याइएको थियो । त्यति रकमले कुनै पनि हालतमा नपुग्ने भन्दै उनको नेतृत्वमा संघर्ष सुरु भयो । अन्ततः बाटोकालागि ७० हजार रुपैयाँ छुट्टीयो ।
सोही कार्यको मुल्यांकन गर्दै उनलाई अभियान युवा क्लबको अध्यक्ष बनाइयो, जतिबेला उनि मात्रै १७ वर्षका थिए ।अर्जुन गिरी, अब निर्मलपोखरीका लागि नौलो नाम थिएन ।समाजले आफूप्रति गरेको विश्वासलाई शिरोपर गर्दै क्लबकै अध्यक्ष रहँदा खेल मैदान र भवन पनि निर्माण गरे गिरीले ।०६४/ ०६५ को समयमा गाविसमा मदिराकै कारण पारिवारिक देखि सामाजिक खललका गुनासाहरु आउन थाले । अभियान युवा क्लबका अध्यक्ष गिरीले नेतृत्व लिएर अन्य क्लब र आमा समुहको सक्रियतामा सिङ्गो गाविसलाई मदिरा मुक्त गाविस घोषणा गरिएको थियो ।
सामाजिक कार्यसँग पढाइमा अघि बढीरहेका गिरी खेलकुदमा पनि होमिए । सितोरियो कारतेका खेलाडी गिरीले ०६४ सालको जिल्ला स्तरिय प्रतियोगितामा गोल्ड मेडल हात पारे । खेलकुद क्षेत्रका लागि पनि अब ‘अर्जुन गिरी’ नौलो नाम रहेन । माध्यमिक तहपछि गिरीले उच्च माविमा पत्रकारिता विषय रोजे । पत्रकारितामै लागे । स्नातकमा पनि पत्रकारिता अध्ययनसँगै पत्रकारितालाई निरन्तरता दिए । अहिले त पत्रकारितामा पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर गरी लेकसिटी कलेजमा पत्रकारिताको स्नातक तहलाई पढाइरहेका पनि छन् । ताण्डव न्यूज डटकम उनको सम्पादकीय नेतृत्वमा चलिरहेको पोखराको विश्वसनीय अनलाइनमा पर्छ ।
पत्रकारितामा लाग्दै गर्दा नेकपा एमालेको भातृ संगठन प्रेस चौतारीको सदस्य भएका गिरी ०६८ सालमा प्रेस चौतारी कास्कीको सचिवमा चुनिए । पार्टीले दिएका विभिन्न जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्दै आएका गिरी प्रेस चौतारी, कास्कीको अध्यक्ष भए । अहिले पनि उनको नेतृत्वमा प्रेस चौतारी कास्की सशक्त छ । वर्षअघि विश्व कोरोना महामारीले आक्रन्त भयो । सबैका दैनिकि ठप्प भए । देशमा लकडाउन सुरु भयो । दैनिक ज्याला मजदुरीमा निर्वाह गरिरहेकाहरुलाई महामारीले चैनको सास फेर्न दिएन । गिरीको सक्रियता यतिबेला झन् बढ्यो ।
कोरोना कहरका कारण निभेका चुल्होहरुमा गिरी आगोको झिल्का बने । साथीभाई, ईष्टमित्र, देशविदेशमा रहेका शुभेच्छुकहरुलाई अनुरोध गरेर उनले तेल, दाल, चामल लगायतका खाद्यान्न सामाग्रीहरु वितरण गरे । कोभिड भई घरमै बसेकाहरुलाई औषधीमुलोको व्यवस्था समेत गिरीले गरेका थिए । यहि सक्रियतालाई मध्यनजर गर्दै पोखरा २१ वडा कार्यालयको आह्वानमा बसेको सर्वदलिय बैठकले उनलाई कोभिड नियन्त्रण समितिको संयोजक बनाएको थियो ।
पत्रकारितामा स्नातकोत्तर गरेका गिरीको ताण्डव न्यूज सञ्चालनमा छ । उनि पोखराकै लेकसिटी कलेजका प्राध्यापक समेत हुन् ।
विवेकात्मक जोश र कुशल नेतृत्व उनको बलियो पाटो हो । समाज होस् या पार्टीको विवाद, उनकै सहजिकरणमा टुङ्ग्यो लाग्थ्यो । उनको कार्यशैलीप्रति प्रभावित भएरै नेकपा(एमाले) कास्की जिल्ला कमिटिको सदस्यभएसँगै उनलाई पोखरा २१मा पार्टी ईन्चार्जको जिम्मेवारी दिइयो । पार्टीप्रति जनताको विश्वास बलियो बनाउन सफल देखिएका गिरी पछिल्लो स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारहरुलाई भारी मतले जित हासिल गराउन सफल भए ।
जनतालाई दुःख दिनु हुँदैन भन्ने सोंच राख्ने गिरी अन्यायमा परेका जो कोहीलाई न्याय निरुपणका लागि बलबुँताले भ्याएसम्म लाग्छन् । निडर र खोजमुलक पत्रकारिता, जनताले अधिक पत्याएको पाटो हो उनको ।
हालसम्म संलग्न रहेका संस्था वा संगठनमा आर्थिक पारदर्शीता कायम गर्दै चारित्रिक रुपमा पनि इमान्दार गिरीप्रति समाज एवं क्षेत्रको आशा बढ्दो छ ।
उनलाई पोखरा २१ सँगै कास्की क्षेत्र नं २(क)का अन्य वडाबासीले प्रदेश सांसदका रुपमा हेर्न चाहिरेका छन् । सामाजिक सञ्जालमा उनलाई उम्मेदवार बनाउन स्वतः स्फूर्त पोष्टहरु आइरहेका छन् । गिरीले टिकट पाए उक्त क्षेत्रमा भारी मतका साथ जित हासिल हुने अड्कल बाजी समेत भइरहेको छ ।
गिरीले जित्ने आधार के के छन् त ?
नेकपा एमाले जिल्ला कमिटि कास्कीका सदस्य तथा पोखरा–२१ का इन्चार्ज अर्जुन गिरीकै नेतृत्वमा वडाध्यक्षलाई भारी मत अन्तरले विजय बनाए । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा–२१ मा एमालेका उम्मेदवार दिपक सुवेदीले गठबन्धनका साझा उम्मेदवार पूर्णबहादुर थापालाई ८ सय ४२ मत अन्तरले पराजित गरे । निर्वाचन क्षेत्र नम्बर २ को (क)मा रहेका ५ वडाहरु मध्ये पोखरा–२१ को मत अन्तर सबै भन्दा धेरै छ । वडा नम्बर २१ मा एमालेका दीपकप्रसाद सुवेदीले २६ सय ५३ मत ल्याएर निर्वाचित भएका थिए । गठबन्धनका साभा उम्मेदवार एकीकृत समाजवादीका पूर्णबहादुर थापाले १८ सय ११ मत ल्याएर पराजय भए ।
यस निर्वाचन क्षेत्रमा पोखरा–२१ सहित ७, १५, १७ र ३३ वडा छन् ।
उक्त वडाको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले ल्याएको मतलाई आधार मान्ने हो भने एमाले पहिलो स्थानमा छ । गएको स्थानीय निर्वाचनमा पोखरा १५ मा तोरणबहादुर बानियाँ २३ सय ३८ मत निर्वाचित भएका थिए । बानियाँले गठबन्धनबाट कांग्रेसका मिनबहादुर गिरीलाई हराएका हुन् । गिरीले १७ सय २ मत ल्याएका थिए । वडा नम्बर १७ मा एमालेबाटै राधिकाकुमारी शाही निर्वाचित भइन् । उनले २६ सय २५ मत ल्याएकी थिइन् । कांग्रेसबाट देवराज आचार्यले २५ सय ४२ मत ल्याए ल्याएका थिए ।
पाँच वडामा २ वडामा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर ७ मा गठबन्धनका साझा उम्मेदवार राममोहन आचार्य १३ सय ८३ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका किशोर बरालले १२ सय ८४ मत ल्याए ।
त्यस्तै वडा नम्बर ३३ मा रामचन्द्र अधिकारी ३३ सय ८९ मत ल्याएर निर्वाचित भएका छन् । उनले एमाले उम्मेदवार शिवप्रसाद आचार्यलाई पराजित गरेका हुन् । एमालेका आचार्यले २६ सय ३३ मत ल्याएका थिए ।
एमालेले सबै वडामा उम्मेदवार उठाएको थियो । एमालेविरुद्ध पाँचदलिय गठबन्धन साझा उम्मेदवार थिए । पाँच वडाको कुल मत जोड्दा गठबन्धन भन्दा एमाले बलियो देखिएको छ ।



















