काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आजदेखि पोखरामा बोर्ड बैठक बस्न लागेको छ । निकै चासोका साथ हेरिएको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकमा मुख्य एजेन्डाका रूपमा पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा र भारतीय कम्पनीसँगको सम्झौताबारे छलफल हुने भएको छ ।
बैठकमा क्यानको रणनीतिक तथा व्यावसायिक साझेदार सेभेन थ्री स्पोर्ट्ससँगको आकस्मिक दोस्रो संशोधन र सम्झौताका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छानबिन कार्यदलको प्रतिवेदनबारे छलफल हुने भएको हो ।
क्यानले नाबालिका किशोरीमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपमाथिको निलम्बन फुकुवा गर्नका लागि बोर्डमा प्रस्ताव पेस गर्ने जनाएको छ । सन्दीप अहिले धरौटीमा रिहा भएका छन् । अदालतबाट अन्तिम फैसला आउन बाँकी छ ।
















