संसदमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना वाचन

काठमाडौं, ३ वैशाख  । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना वाचन गरिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेका सांसद रघुजी पन्तले व्यंग्यको रुपमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना वाचन गरेका हुन् ।  संसद बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएपछि सांसद पन्तले व्यंग्य गर्दै प्रधानमन्त्री हराएको सूचना वाचन गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना वाचन गर्दै सांसद पन्तले भने, ‘नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगाना फेरिराख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार, हुलिया पहिले पहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने उमेर ६५ नाघेर ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’