काठमाडौं,असार ६ । ‘आफैं श्रमिक आफैं मालिक, उत्पादन हाम्रै नेपालको’ भन्ने मूल नाराको साथ बाँके जिल्लाको राप्तिसोनारी गाउँपालिका वडा नं– २ मा एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालि उद्योग निर्माणाधीन अवस्थामा रहेको छ ।
निर्मार्णाधीन अवस्थामा रहेको उक्त उद्योगको अहिलेसम्म डिपिसीसम्मको काम पूरा हुँदामात्रै १० करोड लगानी भइसकेको छ । उद्योग सञ्चालनमा ल्याउन करिब ३३ करोड लगानीको अनुमान गरिएको अध्यक्ष एवं संयोजक ज्योतिलाल भण्डारीले बताए । आफूहरुले स्थानीय स्तरमा खेर गएका कच्चा पदार्थबाट उद्योग सञ्चालन गर्न खोजेपनि त्यसप्रति सरकारले कुनै चासो र सहयोग नगरेको लगानीकर्ताहरुको भनाई छ । उक्त उद्योगको संस्थापक शेयर सदस्य १० जना रहेका छन् ।
एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा.लि.का संयोजक÷अध्यक्ष भण्डारीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारसँग विभिन्न मागहरु राखेका छन् । उनले सरकारले संविधान र कानुनमा व्यवस्था गरेबमोजिम उद्योगलाई सहयोग र अनुदान उपलब्ध नगराए कानुनी उपचार खोज्नेसमेत चेतावनी दिएका छन् ।
उनले भने ‘ उद्योग स्थापनापछि खेर गएका पेपर, प्याकेजिङ्ग उद्योगबाट र छापाखानाबाट निस्कने पेपरका कुरा, पुराना पत्रपत्रिका, पुराना किताब, कापी, पुराना कपडा, प्लाष्टिकका झोला, धानको भुस्सा, काम नलाग्ने फाईवरयुक्त वस्तुहरुलाई पल्प तथा पेपर मेसिनबाट रिसाईकल गरेर पेपर उत्पादन गरिने छ । ’
स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन गर्ने उद्योगलाई अनुदान, व्याजमा अनुदान र सहुलियतमा ऋण लगायतको व्यवस्था गर्नु पर्ने उनको माग छ । नेपालका वित्तीय संस्थाहरुले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगमा लगानी गर्न नचाहेको उनले गुनासो गरे ।
उद्याृेग सञ्चालनका लागि सहायता माग्दै विभिन्न निकायमा पुगेपनि आफूहरुले आजसम्म आश्वासनमात्रै पाएको उनले बताए । अब संविधान र कानुनले व्यवस्था गरेको सहुलियत र अनुदान नपाएको खण्डमा कानुनी उपचार खोज्ने उनले बताए ।


















