साफ च्याम्पियनसिपमा आज नेपालले भारतसँग भिड्दै

काठमाडौं, असार ९ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले घरेलु टोलीसँग प्रतिश्पर्धा गर्दैछ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले आफ्नो दोस्रो खेलमा आयोजक भारतसँग प्रतिश्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

नेपाल साविक उपविजेता हो । भारत भने साविक विजेता । त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । पहिलो खेल नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४–० ले हराएको छ ।

समूह ’ए’ को नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जितको विकल्प छैन । भारत ३ अंक जोडेर शीर्ष स्थानमा छ ।

हालसम्म भारतसँग आधिकारिक २३ खेल खेलेको नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ । यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागि छन् ।
नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।